काठमाडौं-शेयर बजारमा कोरोनाको प्रभाव बढ्दै गएको छ। विश्वस्तरमा तीव्र रुपमा फैलिएको कोरोनाको संक्रमण भारतमासमेत फैलन थालेपछि त्यसको प्रभाव नेपालको शेयर बजारमा देखिन थालेको हो।
नेपाल शेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले नेपालमा पनि कोरोनाको संक्रमण बढ्दै गएर बजार घटबढ भन्दा पनि कसरी बाँच्ने अवस्था आएको हुँदा बजार प्रभावित भएको बताए।
भारतमा संक्रमण दर बढ्दै गएपछि नेपालमा पनि यसको ठूलो असर पर्ने आँकलन गरिएको छ। यस्तो अवस्थामा शेयरबाट कमाउने–गुमाउनेभन्दा पनि सकेसम्म पैसा नै बनाउने लगानीकर्ताको मानसिकताले घटेकै मूल्यमा भए पनि शेयर बिक्री गरिरहेका छन्।
बुधबार कारोबार सुरु भएदेखि नै घट्न थालेको थियो। अधिकांश समय रातो देखिएको बजारमा व्यापारबाहेक सम्पूर्ण सूचक तथा उपसूचक तल झरेका छन्। वाणिज्य बैंकको सूचक १।१४ प्रतिशतले तल झरेको छ।
सूचक तल झरेसँगै कारोबार रकम एक अर्ब १८ लाख रुपैयाँमा सीमित भएको छ। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ९ करोड ३१ लाख रुपैयाँको कारोबार भएको छ। त्यस्तै एनआईसी एशियाको ८ करोड ३३ लाख रुपैयाँको भएको छ। दुई महिना अगाडिदेखि शेयर बिक्री गर्नेहरु चरम घाटामा देखिन थालेका छन्।
बजार सुधार हुन्छ भन्दै उच्च मनोबलका साथ अर्बौ रुपैयाँको शेयर किन्ने लगानीकर्ताहरुले घाटा खाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।