काठमाडौं- पाकिस्तान सुपर लिग (पिएसएल) टी ट्वान्टी क्रिकेट प्रतियोगिताका प्लेअफ खेलहरु स्थगित भएका छन्। पहिले तय भएको खेल तालिकामा चार दिन छोट्याएर प्रतियोगिता गरिरहँदा पनि एक विदेशी खेलाडीमा कोरोना भाइरसको संक्रमण देखिएपछि सेमिफाइनल खेल स्थगित भएका हुन्।
संक्रमण देखिएका ती खेलाडीले पाकिस्तान छाडिसकेको बताइए पनि कसमा संक्रमण देखिएको थियो भन्ने नाम गोप्य राखिएको छ। ‘हामीले कसलाई संक्रमण देखिएको हो भनेर नाम भन्न मिल्दैन, तर खेलाडीमा संक्रमण देखिएको हो र उनले पाकिस्तान छाडिसकेका छन्’ पाकिस्तान क्रिकेट बोर्डका प्रमुख कार्यकारी वासिम खानले भनेका छन्।
टिमहरु मुल्तान सुल्तान र पेसेवर जाल्मी साथै कराची किंग्स र लाहोर क्वालन्डर्सबीच सेमिफाइनल खेल मंगलबार हुने तालिका रहेको थियो। त्यस्तै फाइनल खेल बुधबार नै गर्ने गरी तालिका छोट्याइएको थियो। अब नयाँ तालिकामा खेल खेलाइने बताइए पनि कहिले हुने भन्ने यकिन छैन।
‘पाकिस्तान छाडिसकेका ती विदेशी खेलाडीले आफूमा संक्रमण देखिएको बताएपछि प्रतियोगिता रोकिएको हो। अब अवस्थालाई हेरेर बाँकी निर्णय गरिनेछ’ खानले भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।