काठमाडौं- माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बाँध परीक्षण काम सुरु भएको छ। कुल ४ सय ५६ मेगावाट जडित क्षमता रहेको यो आयोजनाबाछ चालु आर्थिक वर्षको अन्तिमसम्ममा व्यापारिकरुपमा विद्युत उत्पादन गरिसक्ने लक्ष्य राखिएको छ।
माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका प्रमुख विज्ञान श्रेष्ठले सोमबारबाट पानी भरेर ड्याम परीक्षणको काम सुरु गरिएको बताए। ‘ड्यामको काम सबै सकियो। टेस्टको काम सुरु भएको छ। यो परीक्षण गर्न एक हप्ता जति समय लाग्छ,’ श्रेष्ठले भने।
पिकिङ रन अफ रिभर (पिआरओआर) आयोजना भएका कारण यो आयोजनामा २२ लाख घनमिटर पानी थेग्ने २ किलोमिटर लामो ड्याम छ। उक्त ड्याममा पानी भरेर ठिक रहेको नरहेको बारे परीक्षण गर्न लागिएको हो।
बाँध परीक्षणका लागि प्रमुख कार्यकारी अधिकृत श्रेष्ठसहित नेपाल विद्युत प्राधिकरणको टोली आयोजनास्थल पुगेको छ।
आयोजना सुरु गर्दा २०७१ साल चैतलाई निर्धारित सम्पन्न मिति मानिएको थियो तर तीनपटकसम्म गरेर उक्त अवधि थपेर २०७६ असारमा पुर्याइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।