काठमाडौं– विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध साझा रणनीति बनाउन आइतबार सार्क क्षेत्रका नेताहरु भिडियो कन्फ्ररेन्समार्फत संवादमा जुटे। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा भएको भिडियो कन्फ्ररेन्सलाई दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) क्षेत्रका राष्ट्र तथा सरकार प्रमुखले सम्बोधन गरेका थिए।
सम्बोधनकै क्रममा भारतीय प्रधानमन्त्री मोदीले सार्क क्षेत्र अन्तर्गत कोभिड–१९ विरुद्ध लड्न विभिन्न ५ प्रस्ताव गरेका थिए।
कोभिड–१९ आपतकालीन कोष
मोदीले आफ्नो सम्बोधनका क्रममा कारोना भाइरसविरुद्ध लड्न एक संयुक्त कोष ‘कोभिड–१९ आपतकालीन कोष’को प्रस्ताव गरेका थिए। कोषमा भारतले १ अर्ब १८ करोड रुपैयाँ (१० मिलियन अमेरिकी डलर) राख्ने र अन्य सदस्य राष्ट्रले स्वेच्छाले त्यसमा योगदान गर्न सक्ने छन्। मोदीको प्रस्तावलाई अधिकाशं सदस्य राष्ट्रहले समर्थन जनाएका थिए।
कोरोना भाइरसविरुद्ध लड्न कुनै पनि सदस्य राष्ट्रले उक्त कोषको उपयोग गर्न सक्ने छन्।
चिकित्सक र विशेषज्ञसहितको ‘र्यापिड रेस्पोन्स टिम’
भारतीय प्रधामनत्री कार्यालयका अनुसार मोदीले सम्बोधनका क्रममा चिकित्सक र विशेषज्ञसहितको ‘र्यापिड रेस्पोन्स टिम’ बनाउने जानकारी दिएका थिए। भाइरस परीक्षण किट र अन्य उपकरणसहित तयार रहने उक्त टोली कुनै पनि सार्क देशलाई आवश्य परेका बेला परिचालित हुनेछ।
अनलाइन तालिम
सार्क क्षेत्रका देशका आपतकालीन रेस्पोन्स टिमका लागि अनलाइन तालिम क्याप्सुल प्रदान गरिने प्रस्ताव पनि मोदीले गरेका थिए। सबै देशलाई एउटा स्वफ्टवेयर प्रदान गर्ने जसमार्फत भाइसविरद्ध आवश्यक सूचना र ज्ञान आदानप्रदान हुने छ। यसका लागि सार्क अन्तर्गतको सार्क प्रकोप व्यवस्थापन केन्द्र उपयोगी हुने उनको प्रस्ताव छ।
साझा अनुसन्धान संयन्त्र
सार्क क्षेत्रभित्र महामारी रोग नियन्त्रणका लागि अनुसन्धानमा संयोजन गर्न साझा अनुसन्धान संयन्त्र स्थापना गर्ने, कोभिड–१९ले अर्थतन्त्रमा पार्ने दीर्घकालीन असरबारे मन्थन गर्ने रआन्तरिक व्यापार तथा स्थानीय व्यापार मूल्यमा पर्ने असरबाट बच्ने उपयुक्त तरिकाबारे छलफल गर्ने माेदीकाे प्रस्ताव छ।
सार्क महामारी प्रोटोकल
सार्क क्षेत्रमा संक्रमण फैलिन नदिन सार्क देशका सीमा क्षेत्र र देशभित्रै लागू गर्नका लागि साझा सार्क प्रोटोकलको विकास गर्ने पनि रहेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।