काठमाडौं- पाकिस्तान सुपर लिग टी२० क्रिकेट प्रतियोगिता छाडेर पाकिस्तानबाहिरका खेलाडीहरु घर फर्कने भएका छन्। कोरोना भाइरसको संक्रमण फैँलदै जाँदा उनीहरु प्रतियोगिता बीचमा नै छाड्ने निर्णयमा पुगेको बताइएको छ।
मार्च १ देखि सुरु भएको प्रतियोगिता मार्च २२ मा सकिने खेल तालिका रहेको छ। अहिलेसम्म प्रतियोगिताका २६ खेल सकिइसकेका छन्। प्रतियोगितामा रहेका ६ टिमका नै विदेशी खेलाडीहरु फर्कने तयारीमा रहेको बताइए पनि अहिले पूर्ण निर्णय भने आइसकेको छैन।
पेशावर जाल्मीका टम बान्टन, लियाम लिभिग्स्टोन, लेभिस ग्रेगोरी र कार्लोस ब्रेथवेएट, मुल्तान सुल्तानका जेम्स भिन्स र कराची किंग्सका एलेक्स हेल्सले प्रतियोगिता छाड्ने निर्णय नै गरिसकेका छन्। अरु खेलाडीहरु पनि फर्कने तयारीमा छन्।
पाकिस्तानमा अहिलेसम्म २१ जनामा कोरोना संक्रमण देखिएकोमा दुई जना स्वस्थ भइसकेको बताइएको छ।
प्रतियोगितामा अहिलेसम्मका खेल हेर्दा मुल्तान सुल्तान १२ अंकसहित शीर्ष स्थानमा छ। कराची किंग्स र पेशावर जाल्मी दुवैको समान नौ अंक छ। लाहोर क्वालन्डर्सको आठ साथै स्लामावाद युनाइटेड र क्वेटा ग्लाडियटर्स दुवैको समान सात अंक रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।