काठमाडौं- कोरोना भाइरसको बढ्दो प्रकोपसँगै फिल्म रिलिज र निर्माणको काम प्रभावित बनिरहेको बेला फिल्म '२ नम्बरी' को छायांकन सुरु भएको छ।
चलचित्र निर्माता संघले फिल्म निर्माणको काम तत्कालका लागि स्थगित गर्न आग्रह गरे पनि फिल्म निर्माण टिमले पोखराको उत्तरी भेग ‘घाचोक’बाट छयांकन सुरु गरेको छ।
कोरोना भाइरसको प्रभावले सिनेमा हल सुनसान बन्दै गएका छन् भने नयाँ फिल्म रिलिज हुन सकेका छैनन्। सरकारले समेत भिडभाड नगर्न आग्रह गरिसकेको छ।
फिल्म युनिट भने छायांकनको काम ३५ दिनभित्र सक्ने योजनाका साथ पोखरामा छ।
फिल्ममा दयाहांग राई, पल शाह, वर्षा राउत, भुटानी नायिका उगेन छोदेनलगायत छन्। फिल्मको निर्देशन दिपेन्द्र लामाले गरिरहेका छन्। फिल्म दुई साथीहरुको मित्रतामा आधारित रहेको बताइएको छ।
किरण नेपालीको प्रस्तुतिमा बन्ने फिल्म निर्देशक लामाले नै लेखेका हुन्। फिल्म आगामी वर्ष जनै पूर्णिमामा रिलिज गर्ने तयारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।