काठमाडौं- कोरोना भाइरसको संक्रमणका कारण विश्व खेलकुदमा परिरहेको असर इन्डियन प्रिमियर लिग (आइपिएल) मा नपर्ने भारतीय क्रिकेटको सर्वोच्च निकाय बिसिसिआईले बताइरहे पनि विश्व स्वास्थ्य संगठनले नै महामारी घोषणा गरेका कारण प्रतियोगिता गर्नेमा अन्योल देखिएको छ।
चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण १ सय २३ देशमा फैलिसकेको छ। जसमा भारतमा नै ६० जनाभन्दा बढीमा संक्रमण देखिएको छ। भारतका ११ राज्यमा कोरोना संक्रमित भेटिइसक्दा समेत दर्शकको अधिक भिडभाड हुने आइपिएल जस्तो प्रतियोगिता गर्ने अडान लिनु राम्रो नभएको खेल सम्बद्धहरुले नै बताइरहेका छन्।
आउँदो शनिबार आइपिएलसम्बद्धहरुको बैठक बस्ने र प्रतियोगिता के हुने भन्ने विषयमा निर्णय गरिने क्रिकइन्फोले जनाएको छ। आइपिएल क्रिकेट चैत १६ गतेदेखि सुरु हुने तालिका रहेको छ।
आइपिएल तोकिएकै मितिमा गर्ने भारतीय पक्षको अडान देखिए पनि विदेशी खेलाडीहरु भने प्रतियोगितामा सामेल नहुने मनस्थितिमा देखिएको बताइन्छ।
आइपिएल टिम रोयल च्यालेन्जर्स बैंग्लोरमा आबद्ध रहेका अस्ट्रेलियाका कप्तान आरोन फिन्चदेखि सनराइजर्स हैदराबादमा आबद्ध रहेका न्यूजिल्याण्डका कप्तान केन विलिम्यसनसम्मले यस्तो अवस्थामा यात्रा गर्नु सहज नहुने र सबै सुरक्षा अपनाउन पनि मुस्किल पर्ने बताइरहेका छन्।
विश्व खेलकुदका कतिपय खेलहरु बन्द रंगशालामा भइरहेका छन् भने कतिपय खेलहरु स्थगित भएका छन्। नेपालमा नै चैत १ गतेदेखि हुने भनिएको एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेट कोरोना संक्रमणबाट सुरक्षा अपनाउनकै लागि स्थगित गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।