काठमाडौं- राप्रपा र राप्रपा संयुक्तको एकता सभामा कमल थापाले आफूले कहिल्यै पार्टी नफुटाउने कसम खाएका छन्। उनले हातमा गीता लिएर पार्टी नफुटाउने बाचा गरेका हुन्। 'म आज तपाईंहरुलाई राष्ट्रियसभागृहमा उपस्थित सम्पूर्ण कार्यकर्ता, देश र विदेशबाट हेरिरहनुभएका साथीहरुलाई साझी राखेर प्रतिज्ञा गर्दछु, म कहिल्यै पनि पार्टी फुटाउने छैन' , थापाले भने।
उनले वाचा गर्दै गर्दा दर्शकदिर्घाबाट अविश्वास प्रकट भएको थियो। त्यसलाई ध्यान दिँदै थापाले गीताको पुस्तिका लिएर बाचा गरेका थिए।
'तपाईंहरुलाई विश्वास लागेन?', कार्यकर्ताको हुटिङलाई ख्याल गर्दै थापाले भने, 'मैले गीता ल्याएको छु। यो गीता हातमा राखेर हामी हिन्दू राष्ट्र चाहने, सनातन धर्मका पक्षपातीहरु यो गीता हातमा राखेर कसम खान्छु कि राप्रपालाई कदापी फुट्न दिने छैन।'
त्यसपछि कार्यकर्ताले ताली बजाएका थिए।
बाचा गर्दै उनले अन्य अध्यक्षलाई पनि बाचा गर्न सहज होस् भनेर पुस्तिका 'ड्यास'मै छाडेका थिए। 'यो गीता उहाँहरुलाई पनि चाहिन्छ कि म यहीँ छाडेर जान्छु', उनले भने।
त्यसअघि उनले पटकपटक राप्रपा कहिल्यै पनि नफुट्ने बताएका थिए। उनले राप्रपा फुट्ने अनावश्यक सोच नराख्न कार्यकर्तालाई आग्रह गरेका थिए।
'पार्टी फुट्नुमा नेताहरुको दोष होला। तर तपाईंहरुले हस्ताक्षर नगर्ने हो भने पार्टी फुट्दैन। तपाईंहरु नेताको पछि होइन, नीतिको पछाडि लाग्नुभयो भने पार्टी फुट्दैन', उनले भने।
भिडियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।