काठमाडौं- चीनको वुहानबाट सुरु भएको कोरोना अहिले विश्वको टाउको दुखाइको विषय बनेको छ। विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि कोरोनाको उच्च जोखिमको सूचीमा रहेको र चिनसँगको खुला सिमाना रहेको कारणले नेपालमा पनि जुनसुकै बेला कोरोना फैलनसक्ने विज्ञहरुको चेतावनी छ।
हुन त कोरोनाको विषयमा मिडिया र सामाजिक सञ्जालमा उल्लेख्य जनचेतना फैलाउने काम भइरहेको पनि छ। नेपाल सरकारले पनि सरकारी स्तरबाट कोरोना संक्रमण फैलन नदिन जनचेतनामूलक कार्यहरु गरिरहेकै छ।
नागरिकले पनि आफ्नो क्षेत्रबाट कोरोनाबारे सजगता अपनाउनु पर्छ भन्ने हेतुले लेकाली किचन एन्ड कटिया हाउसले आफ्नो रेष्टुरेन्टमा आउने सम्पूर्ण ग्राहकलाई सेनिटाइजर उपलब्ध गराउने र ग्राहक बस्ने टेबुलको दूरी कम्तीमा दुई मिटरको बनाउने निर्णय गरेको छ। यसका साथै लेकाली किचनले आफ्ना सम्पूर्ण स्टाफलाई पन्जा र माक्स अनिवार्य लगाउने निर्णय पनि गरेको छ।
रेष्टुरेन्ट क्षेत्र आफैंमा धेरै मानिसको आवतजावत हुने ठाउँ भएको र मौसम परिवर्तनको समयमा अन्य रुघाखोकी जस्ता सरुवा रोगहरु पनि सहजै सर्नसक्ने भएकोले आफ्ना ग्राहक तथा स्टाफहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै यो निर्णय गरिएको कटिया हाउसका सञ्चालकमधुसूदन ढकाल र राज अर्यालले बताए।
ढकाल भन्छन्, 'हरेक मानिसले आफ्नो ठाउँ र क्षेत्रबाट सजग र सचेत हुने हो भने कोरोना लगायत अन्य सरुवा रोगबाट केही हदसम्म भए पनि सुरक्षित हुन सकिन्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।