काठमाडौं– अण्डा उत्पादक किसानहरु धरासायी अवस्थामा रहेको पाइएको पशुसेवा विभागले जनाएकाे छ। पशुसेवा विभागको जिम्मामा माउन्टडिजिट टेक्नोलोजी प्रालिले गरेको अध्ययन अनुसार किसानहरु धरासायी अवस्थामा रहेको पाइएको हो।
अण्डा उत्पादनको लागत मूल्य तथा बजारीकरण सम्बन्धी देशका ७ वटै प्रदेशमा गरिएको अध्ययनअनुसार अण्डा उत्पादक किसानहरु प्रतिअण्डा करिब ३ रुपैयाँका दरले घाटामा रहेको देखिएको छ। अध्ययनअनुसार अण्डाको फार्म गेट मूल्य ८ रुपैयाँ ६७ पैसा थियो भने अण्डाको उत्पादन लागत ११ रुपैयाँ ५३ पैसा थियो। अण्डाको फार्म गेट मूल्य र उत्पादन लागत मूल्य हेर्दा किसानहरु प्रति अण्डा २ रुपैयाँ ८६ पैसा घाटामा देखिएका हुन्।
विभागका महानिर्देशक वंशी शर्माले व्यवसायीको इमान्दारितामा कमी देखिएका कारण किसानहरुले घाटा बेहोर्नुपर्ने अवस्था आएको बताए। उनी भन्छन्, ‘किसानबाट अण्डा सस्तोमा लिने र बजारमा महंगो बनाउने बिचौलियाको प्रवृतिका कारण पनि किसानहरु मारमा परेका हुन्। अर्कोतर्फ कुखुरा उत्पादनका लागि सबैभन्दा बढी खर्च हुने भनेको दानामा हो। व्यवसायीहरुले दानाको मूल्य थोरै घटाए जस्तो मात्र गर्ने प्रवृतिले किसान थप मारमा परेका छन्।’
कुखुराको दानाको मूल्य प्रतिकेजी २० रुपैयाँसम्म घटाउन सकिने अवस्था हुँदा पनि व्यवसायीहरुले २ रुपैयाँ घटाएजस्तो गरेको उनको भनाई छ।
किसानको हितमा नीति नै छैन: अण्डा उत्पादक संघ
अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीले किसानको हितमा आवश्यक नीति नै नभएको बताए। ‘जहिले पनि किसानहरु घाटा खाएर काम गरिरहेका छन्,' उनले भने, 'किसानको हितमा आवश्यक नीति नै छैन। जसले गर्दा पछिल्लो समय पोल्ट्री व्यवसाय नै धरासायी बन्दै गएको हो।’
सरकारले किसान र उपभोक्ताबीचका बिचौलियाहरुलाई आवश्यक कारबाही नगरेसम्म पोल्ट्री व्यवसाय नटिक्ने उनले बताए। २०७३ सालदेखि २०७६ सालसम्मको अवस्था हेर्दा कुखुराको दानाको मूल्य ४० प्रतिशत बढेको र अण्डाको मूल्यमा २० प्रतिशत घटेको हुँदा अण्डा उत्पादनक किसानहरु घाटामा गएको विभागले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।