काठमाडौं- सिंगापुर र हङकङले टि–२० एसिया कप छनोट खेल्ने भएका छन्।
शुक्रबार थाइल्यान्डमा सम्पन्न एसिसी टि–२० पुर्वी क्षेत्रीय छनोट प्रतियोगिताको विजेता सिंगापुर र उपविजेता हङकङ हुँदै एसिया कप छनोटमा प्रवेश गरेका हुन्। अन्तिम खेलमा हङकङले मलेसियालाई ६ विकेटले पराजित गर्दै एसिया कप छनोट प्रतियोगिता खेल्ने भएको हो।
१३३ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको हङकङले १८.५ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो। हङकङका लागि शाहिद वासिफले ५०, जेम्स जोहनले ३३ र हारोन मोहम्मदले १९ रनको योगदान दिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३२ रन बनाएको थियो। मलेसियाका लागि विरन्दिप जगजित सिंहले ३३ र सियद अजिजले ३० रनको योगदान दिएका थिए।
यसअघि आजै नेपाल र सिंगापुरबीच हुने भनिएको खेल भने वर्षाको कारण रद्द भएको थियो। सिंगापुरले चार खेलबाट तीन खेलमा जित र एक खेलमा अंक बाँड्दै ७ अंक बनाएर विजेता हुँदै एसिया कप छनोटमा प्रवेश गरेको हो। चार खेलमध्ये तीन खेलमा जित र एक खेलमा हार ब्यहोर्दै ६ अंक बनाएको हङकङ पनि अंक तालिकाको दोस्रो स्थानमा रहँदै छनोट भएको हो।
चार खेलमध्ये दुई खेलमा जित र दुई खेलमा हार ब्यहोरेको हङकङ चार अंक सहित तेस्रो हुँदा नेपाल चार खेलबाट तीन अंक जोडेर चौथो भएको हो। एक खेल पनि नजितेको अयोजक थाइल्यान्ड भने अंक विहीन हुन पुग्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।