काठमाडौं- अष्ट्रेलिया आइसिसी महिला टि–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। अब अष्ट्रेलियाले उपाधिका लागि भारतसँग खेल्नेछ।
बिहीबार भएको दोस्रो सेमिफाइनलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई पराजित गर्दै फाइनलमा पुगेको हो। अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई डर्कवर्थ लेविस (डिएल) मेथोडको आधारमा पाँच रनले पराजित गरेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १३४ रन बनाएको थियो। अष्ट्रेलियाका लागि मेग लेनिङले अविजित ४९ रन बनाउँदा बेथ मोनीले २८ रन बनाएका थिए। बलिङतर्फ दक्षिण अफ्रिकाकी नदिन डि क्लेर्कले तीन विकेट लिइन्।
दक्षिण अफ्रिकाले विजयी लक्ष्य पछ्याउँदै ब्याटिङ थाल्नुअघि पानी परेपछि खेल १३ ओभरमा छोट्याइएको थियो। अब दक्षिण अफ्रिकालाई जितको लागि १३ ओभरमा ९८ रन चाहिएको थियो। तर दक्षिण अफ्रिकाले १३ ओभरमा पाँच विकेटको क्षतिमा ९२ रन मात्रै बनाउन सक्यो। दक्षिण अफ्रिकाकी लउरा वोलभार्डटले अविजित ४१ रन बनाइन्। बलिङतर्फ मेगन स्कुटले दुई विकेट लिइन्।
अष्ट्रेलिया र भारतबीचको फाइनल खेल आउँदो आइतबार हुँदैछ।
भारत र अष्ट्रेलिया दुबै समूह ‘ए’ मा थिए। जहाँ आयोजक टिम अष्ट्रेलियाले भारतसँग १७ रनको हार ब्यहोरेको थियो। पहिलो खेलमा ब्यहोरेको हार फाइनल खेलमा भारतविरुद्ध बदला लिने दाउँमा अष्ट्रेलियन टिम छ।
समूह ‘ए’ बाट भारत विजेता र अष्ट्रेलिया उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका थिए। भारतले भने सेमिफाइनलमा इंग्ल्यान्डसँग खेल्दै नखेली फाइनलमा प्रवेश गरेको हो। भारी वर्षा भएपछि खेल रद्द भएको थियो। आइसिसीको नियम अनुसार समूह चरणमा जसको अंक बढि छ त्यो टिम फाइनलमा प्रवेश गर्ने व्यवस्था छ। भारतले समूह चरणमा आठ अंक पाउँदा समूह ‘बि’ को उपविजेता बनेको इंग्ल्यान्डको ६ अंक थियो। त्यसकारण भारतले सेमिफाइनल खेल्दै नखेली फाइनलमा स्थान बनाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।