काठमाडौं- एभरेष्ट प्रिमियर लिग (इपिएल) टी २० प्रतियोगिताका लागि ललितपुर प्याट्रियोट्समा अनुबन्धित भएका तीन पाकिस्तानी खेलाडी खेल्न नआउने भएका छन्।
पाकिस्तानका बलर मिर हाज्मा, अलराउण्डर हम्माद आजम र हसन खान इपिएल खेल्न नेपाल नआउने भएका हुन्। केही दिनअघि मात्रै ललितपुरले यी तीनै जना खेलाडीले आफ्नो टिमबाट इपिएल खेल्ने जनाएको थियो।
आउँदो महिना बंगलादेश पाकिस्तान टुरमा टेष्ट र एकदिवसीय क्रिकेट खेल्न आउने भएपछि यी तीनै खेलाडीले इपिएल नखेल्ने ललितपुरका प्रशिक्षक राजु बस्न्यातले जानकारी दिए। पाकिस्तान टिमका लागि खेलाडी छनोटका लागि घरेलु प्रतियोगिता खेल्नु पर्ने हुँदा उनीहरु नेपाल आउन नसकेका हुन्।
श्रीलंकन खेलाडी उपुल थारंगाले भने ललितपुरबाट खेल्ने छन्। त्यस्तै, विदेशी कोटामा कुन खेलाडीलाई भित्र्याउने भन्ने कुरामा क्लब अन्तिम तयारीमा पनि पुगेको प्रशिक्षक बस्न्यातले बताए। उनले भने, ‘हामी आज साँझसम्म टुंग्याउने छौं। दुई वेष्ट इन्डिजका र एक खेलाडी भने इंग्ल्यान्डको ल्याउने भनेर अन्तिम तयारी भइरहेको छ। अब सम्झौता गर्न बाँकी छ।’
इपिएल चैत १ देखि १५ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।