काठमाडौं- स्पेनिस ला लिगामा बार्सिलोनालाई २-० ले हराउँदै रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ। रियल मड्रिडको जितले एल क्लासिकोमा बार्सिलोनाभन्दा एक खेल बढी जित्ने कीर्तिमान पनि बनाएको छ। बार्सिलोनाले एल क्लासिकोमा ७२ खेल जितेको छ भने रियल मड्रिडले ७३ खेल जितेको छ। ३५ खेल बराबरीमा सकिएका छन्।
एक खेल बढी जित्ने मात्र होइन आइतबार रातिको खेलपछि रियल मड्रिड एल क्लासिकोको इतिहासमा बढी गोल गर्नेमा पनि अगाडि बढेको छ। एल क्लासिकोमा बार्सिलोनाले अहिलेसम्म ६ हजार १ सय ५१ गोल गरेको छ भने रियल मड्रिडको गोल ६ हजार १ सय ५२ पुगेको छ। रियल मड्रिडको ऐतिहासिक जितमा भिनिसियस जुनियर र मारियानो डायजले गोल गरे।
पहिलो हाफ गोलरहित बराबरी सकिएको खेलमा दुवै टिमले केही राम्रा अवसर खेर फालेका थिए। खेलको ७१औँ मिनेटमा भिनिसियसको गोलमा अग्रता बनाएको रियल मड्रिडले अन्तिम सयममा मारियानोको गोलबाट २-० को जित निकालेको हो।
जितसँगै रियल मड्रिडको २६ खेलमा ५६ अंक छ भने बार्सिलोनाको २६ खेलमा ५५ अंक रहेको छ।
जितपछि रियल मड्रिड प्रशिक्षक जिनेदिने जिदान भन्छन्- हामीले जस्तो खेल खेलेका थियौँ त्यसलाई हेर्दा हामी जितका हकदार हौँ। एक हप्ताको अवस्था हेर्दा हामीले राम्रो गर्न सकिरहेका थिएनौँ, दबाब थियो तर हामीले बार्सिलोनालाई हराएका छौँ। तर यो जितले पनि अहिले नै केही फेरिँदैन। अझै धेरै खेल खेल्न बाँकी छन्। हामीले कठीन खेलहरु खेल्नै भएकाले अझै पनि आलोचना भोग्न पर्न सक्छ।
बार्सिलोना प्रशिक्षक क्विके सेटियन भन्छन्- खेलमा के गर्नुपर्छ भन्नेमा हामी विश्वस्त थियौँ। मौका पर्खिएर गोलमा बढ्नुको विकल्प पनि थिएन। तर दोस्रो हाफमा भनेजस्तो भएन। हामीले किन सजिलै बलमा नियन्त्रण गुमाइरहेका थियौँ मैले बुझिनँ। पहिलो हाफको जस्तो खेलको निरन्तरता दोस्रो हाफमा गर्न नसक्नु हाम्रो भुल हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।