काठमाडौं- एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगितामा भैरहवा ग्लाडिएटर्सले श्रीलंकाका दुई र ओमानका एक खेलाडी आफ्नो टिममा अनुबन्धित गरेको छ।
आइतबार भैरहवाले काठमाडौंमा पत्रकार सम्मेलन गरी श्रीलंकाका मिलिन्दा श्रीवद्र्धना, जीवन मेन्दिस र ओमानका विलाल खानलाई टिममा भित्र्याएको जानकारी दिएको हो। भैरहवामा प्रशिक्षकको रुपमा नेपाली क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायके छन्। लामो समयपछि नेपाल आएका पुबुदु भैरहवा टिमलाई सम्हाल्न नेपाल आइपुगेका हुन्।पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक पुबुदुले भने, ‘लामो समयपछि फेरि नेपाल आउँदा खुशी लागेको छ। टिम राम्रै छ। अब राम्रो भन्दा राम्रो नतिजा निकाल्ने छौं।’
इपिएल चैत १ देखि १५ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुँदैछ।
मिलिन्दा श्रीबर्ध्दना
देब्रेहाते ब्याट्सम्यान श्रीबर्ध्दनाले श्रीलंकाबाट ५ टेष्ट क्रिकेट, २७ एकदिवसीय र २२ टि–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। जहाँ २२ टि–२० अन्तर्राष्ट्रिय क्रिकेटमा २७५ रन बनाएका छन्।
टि–२० क्रिकेटमा उनको ब्याटिङ एभरेज १७.१८ रहेको छ। २०१५ मा टि–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तानविरुद्ध डेब्यु गरेका श्रीवद्र्धनाले २०१७ मा अन्तिम पटक बंगलादेशविरुद्ध टि–२० क्रिकेट खेलेका थिए।
जीवन मेन्दिस
जीवन मेन्दिस श्रीलंकाका अलराउण्डर क्रिकेटर हुन्। ३७ वर्षीय मेन्दिसले राष्ट्रिय टिमबाट अन्तिम पटक दक्षिण अफ्रिकाविरुद्ध एकदिवसीय खेल खेलेका थिए।
सन् २०१० मा जिम्बाब्वेविरुद्ध राष्ट्रिय टिमका लागि डेब्यु गरेका मेन्दिसले ५८ एकदिवसीय र २२ टि–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन्। २२ टि–२० खेलबाट उनले २०७ रन बनाएका छन्।
२०१८ मा बंगलादेशविरुद्ध अन्तिम पटक टि–२० क्रिकेट खेलका मेन्दिसले फष्र्ट क्लासमा भने २१ शतक र ३६ अर्धशतक बनाएका छन्।
विलाल खान
ओमानका तिब्रगतिका बलर बिलाल खान पछिल्लो समयमा उत्कृष्ट लयमा छन्। केहिदिन अघि मात्रै नेपालमा सम्पन्न आइसिसी विश्वकप लिग–टु अन्तर्गत त्रिदेशीय सिरिजमा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए।
ओमानका स्टार क्रिकेटर विलालले १० एकदिवसीय ३५ टि–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल खेलेका छन्। जसमध्ये टि–२० मा उनले ५१ विकेट लिएका छन्। एकदिवसीयमा १८ विकेट उनको नाममा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।