काठमाडौं- एसिसी टि–२० पूर्व क्षेत्रीय छनोट क्रिकेट प्रतियोगितामा मलेसियासँग नेपालले हार ब्यहोरेको छ।
थाइल्यान्डमा शनिबारदेखि सुरु भएको पूर्व क्षेत्रीय छनोट प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा नै मलेसियासँग २२ रनको हार ब्यहोरेको हो।
जित नजिक पुगेको नेपालको फिनिसिङ राम्रो नहुँदा हार ब्यहोर्न पुग्यो।
१५५ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालले १९.५ ओभरमा सबै विकेटको क्षतिमा १३२ रनमात्रै बनाउन सक्यो। १ रन हुँदा नै पहिलो विकेटको रुपमा कुशल मल्ललाई शून्य रनमै गुमाएको नेपालको सुरुवात भने राम्रो हुन सकेन।
नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीले समान ३८-३८ रन बनाए। त्यस्तै, पवन सर्राफले १९ रन जोड्दा अन्य खेलाडी भने दोहोरो अंक पनि बटुल्न सकेनन्। पारस खड्का ९ रनमा आउट भए।
मलेसियाका लागि शर्विन मुनियन्डीले ४ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको थियो।
सिएद अजिज सिएद मबराकले ५१, अनवार अरुदिनले ३१ र मोहम्मद नोरले ३० रन बनाएका थिए। नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिँदा अविनाश बोहराले २ विकेट लिए।
सन्दीपको सय विकेट
नेपालका युवा खेलाडी सन्दीप लामिछानेले टि-२० क्रिकेटमा ऐतिहासिक सय विकेट पूरा गरेका छन्।
मलेसियाविरुद्धको खेलमा उनले एक विकेट लिएसँगै सय विकेट लिने पहिलो नेपाली खेलाडीको कीर्तिमान कायम गरेका हुन्।
आफ्नो पहिलो ओभरमा नै २ विकेट लिएका सन्दीपले भिरनदिप सिंह, खिजार हायत र अनवार अरुदिनलाई आउट गराएका थिए।
सन्दीपले ४ ओभर बलिङ गर्दै २२ रन खर्चेर ३ विकेट लिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।