काठमाडौं– नेवार समुदायको कला, संस्कृति, भाषा तथा संस्कारको जगेर्ना गर्ने उद्देश्यले नेप्लिज फेसन होम (एनएफएच इभेन्ट्स)ले विगत १५ वर्षदेखि आयोजना गर्दै आएको प्रतिभा तथा सौन्दर्य प्रस्फुटन गर्ने प्रतियोगिता ‘मिस नेवाः ११४०’को अडिसन काठमाडौंमा सम्पन्न भएको छ।
शुक्रवार सम्पन्न अडिसनबाट १५औं संस्करणको मिस नेवाःका लागि २५ जना प्रतिस्पर्धीहरु छनोट गरिएको आयोजकले जनाएको छ। अडिसनमा छनोट भएका प्रतिस्पर्धीहरु काठमाडौं, भक्तपुर, ललितपुरलगायत अन्य जिल्लाबाट प्रतिनिधित्व गर्दै सहभागी भएका छन्।
अडिसनबाट छनोट भएका प्रतिस्पर्धीलाई करिव डेढ महिना प्रशिक्षण दिइने छ। त्यसक्रममा उनीहरुलाई नेपाल भाषा, कला, संस्कृति तथा संस्कार विषयमा केन्द्रित भएर प्रशिक्षण दिइनेछ।
मिस नेवाःको ग्राण्ड फिनाले बैशाख दोस्रो साता कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा गरिने आयोजकले जनाएकाे छ। आयोजक संस्थाकी अध्यक्ष हेमा मानन्धरका अनुसार ‘मिस नेवाः ११४०’को उपाधि जित्नेले एक लाख रुपैयाँ पुरस्कार स्वरुप प्राप्त गर्ने छिन्।
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।