सांकेतिक तस्बिर सुर्खेत- मदन भण्डारी राजमार्गको सर्भेमा देखिएको विवाद टुङ्गिएको छ। सुर्खेतको पञ्चपुरी नगरपालिकाको सालकोट हुँदै लैजाने विषयमा सहमति जुटेपछि आयोजनालाई सर्भे गर्न बाटो खुलेको छ।
सोही क्षेत्रका प्रतिनिधिसभा सदस्यसमेत रहेका स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतको पहलमा शुक्रबार उक्त विवाद समाधान भएको हो। राजमार्ग सालकोट या बाबियाचौर कुन स्थानबाट लैजाने भन्ने विषयमा त्यस क्षेत्रका बासिन्दा विभाजित थिए।
सहमतिअनुसार अब मदन भण्डारी राजमार्ग सालकोटको रुट भएर जानेछ भने खम्बागाडे–बाबियाचौर–विद्यापुर सडकको राजमार्गसरहकै स्तरोन्नति गरिनेछ। २० किमि लम्बाइ रहेको खम्बागाडे–बाबियाचौर–विद्यापुर सडकलाई ५० मिटर चौडाइको बनाउन विस्तृत सम्भाव्यता अध्ययनको काम पनि सुरु गरिएको छ।
अब यो सडक पनि मदन भण्डारी राजमार्गसरहकै मापदण्डअनुसार बन्नेछ। सालकोट र बाबियाचौर क्षेत्रका बासिन्दाको विवादका कारण पछिल्लो समय सर्भे कार्य रोकिएको थियो।
राज्यमन्त्री रावतले खम्बागाडे पुगेर सम्भाव्यता अध्ययनको सुरुवात गरे। विकासमा विवाद गर्न नहुने भन्दै उनले पश्चिम सुर्खेत राष्ट्रिय राजमार्गमा जोडिन सफल भएकामा खुसी व्यक्त गरे। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।