काठमाडौं- एसिसी टि-२० पूर्वी क्षेत्रीय छनोट प्रतियोगिता खेल्न थाइल्याण्डमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम अहिले अभ्यासमा व्यस्त छ।
थाइल्यान्डमा फागुन १७ देखि २३ गतेसम्म आयोजना हुने एसिसी टि-२० पूर्वी क्षेत्रीय छनोट प्रतियोगिता खेल्ने नेपाली टिम बुधबार त्यसतर्फ प्रस्थान गरेको थियो।
प्रतियोगितामा नेपालसँगै आयोजक थाइल्यान्ड, मलेसिया, सिंगापुर र हङकङ रहेका छन्। म्यानमार, चीन र भुटानले कोरोना भाइरसको कारण प्रतियोगितामा नखेल्ने निर्णय गरेपछि पाँच राष्ट्रको सहभागिता हुने भएको हो।
फागुन १७ गते दुई खेल हुँदै छन्। उद्घाटनमा आयोजक थाइल्यान्डले सिंगापुरसँग प्रतिस्पर्धा गर्दा नेपालले मलेसियासँग खेल्ने छ। त्यस्तै, नेपालले आफ्नो दोस्रो खेलमा १८ गते हङकङसँग, २१ गते आयोजक थाइल्यान्डसँग र आफ्नो अन्तिम खेल भने २३ गते शुक्रबार सिंगापुरसँग खेल्नेछ।
अभ्यासमा ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय नेपाली टिम छ। टिममा भुवन कार्कीले पुनरागमन गरेका छन् भने किशोर महतो पहिलो पटक टिममा परेका छन्।
यस्तै अरु खेलाडीमा दीपेन्द्रसिंह ऐरी, पारस खड्का, विनोद भण्डारी, आरिफ शेख, करण केसी, सन्दीप लामिछाने, अविनाश बोहरा, कुशल मल्ल, सुशन भारी, पवन सर्राफ, सन्दीप जोरा छन्। नेपाली टिमका मुख्य प्रशिक्षकमा जगत टमाटा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।