काठमाडौं– युएईले एसिसी टि–२० पश्चिम क्षेत्रीय प्रतियोगिताको उपाधि जितेको छ।
बिहीबार भएको फाइनल खेलमा कुवेतलाई १०२ रनले पराजित गर्दै युएईले एसिसी टि–२० पश्चिम क्षेत्रीय प्रतियोगिताको च्याम्पियन बनेको हो। २०० रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ९७ रन मात्रै बनाउन सक्यो।
कुवेतका लागि मोहम्मद अस्लामले अविजित २३, बिलाल ताहिरले २२ र मोहम्मद अमिनले १८ रन बनाउन बाहेक अन्य खेलाडी क्रिजमा टिक्न सकेनन्। बलिङतर्फ युएईका सुलतान अहमदले ४ र अहमद राजाले २ विकेट लिए।
टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १९९ रन बनाएको थियो। युएईका लागि चिराग सुरीले ६० रन बनाउँदा वाहिद अहमदले विष्फोटक ब्याटिङ गर्दै मात्र १५ बलमा ४५ रन बनाए।
युएईसँग फाइनलमा पराजित भएपनि कुवेत एसिया कप छनोटमा प्रवेश गरेको छ। कुवेतले सेमिफाइनलमा बहराइनलाई ८७ रनले पराजित गरेसँगै एसिसी टि–२० एसिया कप छनोट खेल्ने भएको थियो।
पश्चिम क्षेत्रीय छनोट प्रतियोगिताबाट युएई विजेता र कुवेत उपविजेता बनेर एसिया कप छनोटमा प्रवेश गरेको हो। अब यी दुई टिमले एसिया कप प्रवेशका लागि पूर्व क्षेत्रीय छनोटबाट विजेता र उपविजेता बनेर आउने टिमसँग खेल्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।