काठमाडौं–हलिउड फिल्म निर्माता हार्वी वाइन्स्टाइन यौन दुर्व्यवहारको मुद्दामा दोषी ठहर भएका छन्। उनीमाथि पाँच आरोप लागेका थिए। पाँचमध्ये दुई आरोप पुष्टि भएको छ। दुई वर्षको सुनुवाईपछि उनी दोषी ठहर भएका हुन्।
वाइन्स्टाइनविरुद्ध दर्जन बढी महिलाले यौन शोषण, दुर्व्यवहार र बलात्कारको आरोप लगाएका थिए। दोषी ठहर भए पनि उनीमाथि हुनसक्ने सजाय तोकिइसकेको छैन।
दुवै अभियोगमा उनलाई ५ देखि २५ वर्षसम्म जेल सजाय हुनसक्छ। उनी हलिउडका प्रभावशाली निर्मातामै पर्छन्। उनले ‘सेक्सपियर इन लभ, गुड विल हन्टिङलगायतका फिल्म बनाएका छन्।
उनीबारे द न्युयोर्क टाइम्सले सन् २०१७ अक्टोवरमा पहिलो पटक समाचार प्रकाशित गरेको थियो। नायिका रोज मेगावन, एस्ले जडले म्यासेज पठाएर आफूलाई नग्न हेर्न चाहेकाे भन्ने गरेको, चलचित्रमा काम दिएबापत यौन सम्बन्धको प्रस्ताव राख्ने गरेको आरोप लगाएका थिए।
आरोप सार्वजनिक भएपछि उनले माफी माग्दै आफूले फिल्म क्षेत्र छाडेर थेरापीमा जाने बताएका थिए। उनलाई कम्पनीले बोर्डबाट तत्काल हटाएको थियो। न्यूयोर्क म्यागजिनमा अन्य १३ महिलाले उनीमाथी दुर्व्यवहारको आरोप लगाएका थिए। एन्जेलिना जोलीले समेत आफू उनको दुर्व्यवहारमा परेको खुलाइन्।
आरोपमध्ये पूर्व असिस्टेन्ट डाइरेक्टर मिमि हेलियाईमाथि दुर्व्यवहार गरेको र नायिका जेसिका मानलाई बलात्कार गरेको आरोप पुष्टि भएको थियो। अहिले उनी कारागारमै छन्।
मार्च ११ मा उनीविरुद्ध सजाय सुनाइदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।