काठमाडौं- शेयर बजारमा दिनदिनै नयाँ रेकर्ड बन्न थालेको छ। विगत एक सातादेखि दोस्रो बजारमा दिनदिनै नयाँ रेकर्ड बनिरहेको छ।
याे साताको अन्तिम दिन बिहीबार इतिहासकै सबैभन्दा धेरै चार अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको छ। बुधबार पनि चार अर्ब १५ करोड रुपैयाँको कारोबार भएको थियाे। सूचक पनि ३६.०५ अंकले सुधार भएर १६३२.१७ अंकमा पुगेको छ। डा. युवराज खतिवडाको बहिर्गमनको हल्लै हल्लाको भरमा शेयर बजारमा सुधार आइरहेको छ।
बजार धेरै समय अगाडिदेखि सुधार हुनुपर्नेमा हुन नसकेकोले पछिल्ला दिनमा धेरै अंकले बढिरहेको बजार विश्लेषक अम्बिका प्रदान पौडेलले बताए। उनले बजारले आफ्नो लय समात्न थालेको बताए। वास्तविक बजार सुधारका लागि वाणिज्य बैंकहरुको मूल्य पहिला सुधार हुनुपर्ने थियो। तर बीमा र माइक्रोफाइनान्सको मूल्यमा अस्वभाविक सुधार आयो। एकैपटक धेरै कमाउने ध्याउन्नमा रहेका लगानीकर्ताका कारण पछिल्लो समय बीमा कम्पनी र माइक्रोफाइनान्सको शेयर ओभर भ्यालु हुन थालिसकेको छ।
बिहीबार लगानीकर्ताहरुले नाफा बुक गर्ने क्रममा बीमा र माइक्रोफाइनान्सको शेयर बिक्री गरेर ६.१४ प्रतिशत सुधार भएको छ। बीमा कम्पनी र माइक्रोफाइनान्सको तुलनामा बैंकहरुको शेयर मूल्य कम देखेपछि पछिल्लो समय लगानीकर्ताहरु बाणिज्य बैंकका शेयर उठाउन थालेको बजार विश्लेषक पौडेलले बताए। उनले भने, 'वास्तविक बजार सुधारका लागि बाणिज्य बैंकहरु सुधार हुनु पर्ने थियो, तर बीमा र माइक्रोफाइनान्सको मूल्य धेरै बढ्यो। बीमा र माइक्रोफानान्सको मूल्यको तुलना गर्दा बाणिज्य बैंकहरुको मूल्य कम भए पछि लगानीर्ता बाणिज्य बैंकहरुमा आकर्षित भएका छन्।'
बिहीबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको मात्रै २८ अर्ब ९२ करोड रुपैयाँको कारोबार भएको छ। त्यस्तै एनआईसी एशियाको २० करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ। एभरेष्ट बैकको शेयर कारोबारमा सर्किट लागेको छ। बाणिज्य बैंकहरुको शेयरमा अधिकतम सुधार आएको छ। पिइ रेसियोभन्दा कम भएका बाणिज्य बैंकमा लगानीकर्ता आकर्षित भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।