काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको छ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले रिक्त हुन लागेको एक पदमा गौतमलाई सिफारिस गर्न सरकारलाई अनुरोध गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने राष्ट्रियसभाका तीनमध्ये एक पद केही दिनपछि रिक्त हुँदैछ। युवराज खतिवडाको पद रिक्त हुन लागेको हो।
‘वामदेव गौतमलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने पदमा सिफारिसका लागि सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ,’ सचिवालय बैठकपछि प्रवक्ता श्रेष्ठले भने।
त्यस्तै केही दिनयतादेखि चर्चामा रहेको नेकपा कार्यदल पनि अब नरहेको जानकारी उनले दिए।
‘चर्चामा आएको संविधान संशोधनको गृहकार्य कार्यदल बनाइएको भनिएकोमा त्यो कार्यदल नरहेको जानकारी गराउने निर्णय पनि गरेको छु,' उनले भने।
यसअघि गत शनिबार बसेको सचिवालय बैठकले कार्यदल बनाएर जानु उपयुक्त हुने सन्दर्भमा छलफल भई समझदारी गरेको थियो। 'संविधान संशोधन आवश्यकता अनुसार हुँदै जान सक्ने, संविधानको मर्म र प्रावधानअनुसार अगाडि बढ्न सकिन्छ,’ प्रवक्ता श्रेष्ठले बैठकका निर्णय सुनाउँदै भने, ‘तर, अहिले नै संविधान संशोधनको गृहकार्य गर्न उक्त कार्यदल बनाउने र संविधान संशोधनलाई अगाडि बढाउने औचित्य आजको सचिवालयले देखेन। त्यसकारणले अब कार्यदल छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।