काठमाडौं- परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पछिल्ला राजनीतिक बहसबारे सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीकै नेताहरूप्रति प्रश्न उठाएका छन्।
मंगलबार साँझ एक ट्विट गर्दै मन्त्री ज्ञवालीले केही नेकपा नेताहरूप्रति लक्षित गर्दै आक्रोशपूर्ण धारणा सार्वजनिक गरेका हुन्।
सामान्यतया सामाजिक सञ्जाललाई हत्तपत्त आक्रोश पोख्न प्रयोग नगर्ने पहिचान भएका मन्त्री ज्ञवालीले भनेका छन्, 'कमरेडहरू, गत:निर्वाचनमा हामीमाथि जनविश्वासको आधार थियो-स्थिरता र समृद्धिको अपिल।तर कहिले आलोपालो प्रम त कहिले शासन प्रणाली परिवर्तन, अनि राष्ट्रियसभा सदस्य पनि प्रम हुने व्यवस्था गर्न संविधान संशोधनको बेमौसमी बहस।'
पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनित गरी प्रधानमन्त्री बनाउने बाटो खुलाउन भन्दै संविधान संशोधनको बहस नेकपामा केही दिन अघिमात्र चलेको थियो।
यसका लागि नेकपाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको संयोजकत्वमा ३ सदस्यीय सुझाव समिति गठन गरेको समेत बाहिरिएको थियो।
ट्विटमा मन्त्री ज्ञवालीले प्रश्न गरेका छन्, 'के नेकपा राजनीतिक स्थिरता दिन अक्षम छ भन्ने सन्देश दिन खोजिएको हो?'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।