काठमाडौं– नेपाली कांग्रेसले पोखरास्थित पृथ्वीनारायण क्याम्पसपरिसरबाट पक्राउ गरिएका आफ्ना कार्यकर्ताको तत्काल रिहाइको माग गरेको छ। क्याम्पसमा दुई विद्यार्थी समूहबीचको सामान्य विवाद मिलाउन क्याम्पस प्रशासनले परिसरमा बोलाएको र नेविसंघका रोशन हमाललाई सुनियोजित रुपमा विनाकारण प्रहरीद्वारा गिरफ्तार गरिएको भन्दै रिहाइको माग गरेको हो।
हमाललाई झुटा मुद्दामा फसाउने षडयन्त्र गरेको विरोधमा निकालेको शान्तिपूर्ण प्रदर्शनमा पनि प्रहरीले बल प्रयोग गरेको कांग्रेसले जनाएको छ। प्रहरीले कांग्रेस कास्कीको कार्यालयभित्रै प्रवेश गरी विद्यार्थी नेताहरुमाथि लाठीप्रहार गरिएको र विष्णु पहारी र समुन बिमलीलाई पक्राउ गरिएको कांग्रेसले जनाएको छ। यस्तै, एक छुट्टै शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा विक्रम पौडेल र असिम सुवेदीलगायतलाई पनि गिरफ्तार गरेको घटनाप्रति पनि गम्भीर ध्यानाकर्षण गरिएको कांग्रेसले जनाएको छ।
यस घटनाले सरकारको अधिनायकवादी र सर्वसत्तावादी चरित्र उदांगो भएको भन्दै कांग्रेसले जारी गरेको विज्ञप्तिमा घाइतेको उपचारको व्यवस्था र गिरफ्तारलाई तत्काल रिहाई गर्न माग गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।