काठमाडाैं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सत्तामा नहुँदा क्रान्तिमा ठूलोठूलो त्याग गर्ने कम्युनिस्टहरु सत्तामा पुगेपछि भ्रष्टाचारमा लिप्त हुने गरेको बताएका छन्।
नारायणविलास जोशी स्मृति प्रतिष्ठानको भवन शिलान्यास कार्यक्रममा अध्यक्ष प्रचण्डले सत्तामा पुगेपछि कम्युनिस्टहरुमा लोभ, भ्रष्टाचारजन्य क्रियाकलाप देखिने गरेको बताए। ‘सत्तामा नहुँदा आन्दोलनमा हुँदा क्रान्तिम हुँदा निकै ठूलो त्याग गर्न सक्ने, तपस्या गर्न सक्ने, जनतासँग घुलमिल हुन सक्ने, जनता जहाँ बस्छन त्यहीँ जे खान्छन् त्यहीँ, जसरी काम गर्छन् त्यसरी नै काम गरेर जनताको मन जित्न सक्ने,' उनले भने, 'सत्ता प्राप्त गरिसकेपछि कहिं न कहिं त्यो आदर्शबाट विचलित हुने गरेका थुप्रै घटनाहरु विश्व इतिहासमा पनि छन् र नेपालको इतिहासमा पनि त्यसका संकेतहरु लक्षणहरु देखिने गरेका छन्।’
उनले हिजो मृत्युलाई पनि सामना गरेर जस्तो सुकै तपस्या गर्नेहरु सत्तामा पुगेपछि जनताका कामहरु गर्न छाड्ने र कम्युनिस्ट सिद्धान्तबाट विचलित हुने गरेको बताए। ‘त्यहाँ गइसकेपछि पद प्रतिष्ठा लोभ लालचमा अनि विभिन्न खालका विसंगति विकृति भ्रष्टाचारजन्य कृयाकलापहरु देखिन जाने,' उनले भने।
अध्यक्ष प्रचण्डले कम्युनिस्टहरु सत्तामा पुगेपछि आफ्नो आदर्शबाट विचलित हुने गरेको विश्व इतिहास नै रहेको भन्दै नेपालमा घटेका पछिल्ला घटनाहरुले राम्रो संकेत नदेखिएको बताए। सोभियत संघ र पूर्वीयुरोपमा ठूलो त्याग र बलिदानबाट स्थापित भएको कम्युनिस्ट सत्ता पतन भएको दृष्टान्त उल्लेख गर्दै उनले नेपालमा पनि नेतृत्वमा देखिँदै गएको लोभ र भ्रष्टाचारजन्य कृयाकलापले राम्रो संकेत नदेखिएको बताए।
‘यसो हेर्यो भने हाम्रो पनि त्यही नियती। त्यतै जाने खतराका संकेतहरु त्यति राम्रा देखिएनन्। आजभोलि यसो घटना हेर्यौं मान्छेहरु बिग्रने बिग्रनेतिर गएको जस्तो देखिदै छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।