समयमै योजना सम्पन्‍न गर्ने दिशामा लाग्‍न मन्त्री अर्यालकाे निर्देशन

नेपाल लाइभ | २०७६ फागुन २ शुक्रबार | Friday, February 14, 2020 १२:१०:०० मा प्रकाशित

स्याङ्जा- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले योजना माग गर्ने तर रकम खर्चै नहुने कुरा दुःखद रहेको बताएकी छन्।

जिल्लाको विकास सम्बन्धमा स्याङ्जामा छलफल गर्दै मन्त्री अर्यालले सडकको विषय अझ गम्भीर रहेको बताइन्। जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालय स्याङ्जाले आयोजना गरेको विकास सम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले समयमै योजना सम्पन्न गर्ने सन्दर्भमा कर्मचारीले मात्र रकम खर्च गरेनन् भन्दा पनि जनप्रतिनिधिहरुले कति सहजिकरण गर्ने भन्ने कुरा पनि महत्त्वपूर्ण हुने बताइन्।

'के गर्दा काममा गति दिन सकिन्छ ध्यान दिऊ। योजना नपरेको होइन काम नभएको हो,' मन्त्री अर्यालले भनिन्, 'अहिलेसम्मका ठेकेदारी प्रकृयामा नै समस्या छ। क्षमता नै नभएकोले एकभन्दा बढी योजना होल्ड गरेर किन राख्ने? सोचनीय विषय हो कि होइन?' छिरलिएका योजनाले समृद्धि आउन नसक्ने भन्दै मन्त्री अर्यालले अलिकति बल गर्दाखेरि सम्पन्न गर्न सकिने योजनाको पहिचान गरेर सम्पन्न गर्ने दिशामा जान आग्रह गरिन्।

एक वर्षभित्रमा सम्झौता कार्यान्वयन नगरेमा सिधै सम्झौता खारेज गर्नेगरी खरिद ऐन संशोधन भएको भन्दै उनले योजना लिएर सम्पर्कबिहिन ठेकेदारको समस्या समाधान हुने बताइन्। अब विकास निर्माणको कार्यान्वयमा देखिएको उदासिनता त्यागेर अगाडि बढ्नुपर्ने उनकाे भनाइ थियो। परिवर्तनको अनुभूति गराउने विषय कर्मचारीहरुको हातमा भएको भन्दै उनले कर्मचारीको जिम्मेवारी निर्वाह गर्दै मेरो पालामा नयाँ के काम गर्ने भन्ने योजना बनाएर अगाडी बढ्न कर्मचारीलाई निर्देशन दिइन्।