सुरक्षाका विषयमा आक्रामक रुपमा प्रस्तुत हुन निमित्त प्रदेश प्रमुखलाई आइजी ज्ञवालीको निर्देशन 

नेपाल लाइभ | २०७६ फागुन १ बिहीबार | Thursday, February 13, 2020 १८:०६:०० मा प्रकाशित

काठमाडौं- प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले प्रहरी प्रधान कार्यालयबाट भिडियो कन्फेरेन्सद्वारा ७ वटै प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुखहरुलाई शान्ति सुरक्षा तथा समसामयिक विषयमा निर्देशन दिएका छन्। 

बिहीबार उनले सबै प्रदेशका निमित्त प्रमुखहरुसँग उक्त विषयमा अन्तरक्रिया समेत गरेका थिए। ज्ञवालीले जस्तोसुकै सुरक्षा चुनौतीलाई समाधान गर्न प्रहरी सक्षम रहेको उल्लेख गर्दै त्यस्ता चुनौतीहरुको समाधान गर्न उच्च सतर्कताका साथ प्रहरी परिचालन गरी आक्रामक रुपमा प्रस्तुत हुन निर्देशन दिए। 

आवश्यकताअनुसार प्रदेश सरकार, सम्बन्धित निकाय, स्थानीय तह, स्थानीय प्रशासनसँग समेत समन्वय गरी उच्च प्रतिफल आउने गरी काम गर्नुपर्ने उनले बताए। 

प्रहरी महानिरीक्षक ज्ञवालीले कुनै पनि घटना, दुर्घटना भएमा तत्काल आवश्यकताअनुसार प्रहरी परिचालन गरी विधि तथा प्रक्रियासम्मत रुपमा कानुनी कारबाही अगाडि बढाउनुपर्ने बताए।

सबै प्रदेशका प्रहरी प्रमुखहरुले आ-आफ्नो प्रदेशको सुरक्षा चुनौतीको पहिचान गरी उच्च रणनीतिका साथ समस्या समाधानमा लाग्न उनले निर्देशन दिए।  

प्रहरी कारबाहीको क्रममा मानवअधिकारको संरक्षण गर्नुपर्नेमा जोड दिँदै प्रहरी महानिरीक्षक ज्ञवालीले हिंसाजन्य क्रियाकलापमा प्रहरीको संलग्नता अक्षम्य हुने बताए।

राजमार्ग अवरोध, अवाञ्छित गतिविधिलगायत अन्य अपराधिक गतिविधि नियन्त्रणमा पूर्ण सक्रियताका साथ खटिनुपर्नेमा उनले जोड दिए।  

अन्तरक्रियाको क्रममा प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुखहरुले आ-आफ्नो प्रदेशको शान्ति सुरक्षा एवं प्रहरीका काम कारबाहीका बारेमा जानकारी दिएका थिए।