आपराधिक पृष्ठभूमिका उम्मेदवारको नाम छनौटअघि नै सार्वजनिक गर्न भारतीय सर्वोच्चको आदेश

नेपाल लाइभ | २०७६ फागुन १ बिहीबार | Thursday, February 13, 2020 १४:०४:०० मा प्रकाशित

नयाँ दिल्ली- आपराधिक पृष्ठभूमिका उम्मेदवारको नाम छनौटअघि नै सार्वजनिक गर्न भारतीय सर्वोच्च अदालतले फैसला गरेको छ।

आइतबार न्यायाधीशहरु आरएफ नरीमन र एस रविन्द्र भटको इजलाशले राजनीतिक दलहरुलाई यस्तो निर्देशन दिएको हो। 

सत्तारुढ दल भारतीय जनता पार्टीका नेता अश्विनी उपाध्यायले राजनीतिमा बढ्दो अपराधीकरण रोक्न माग गर्दै सर्वोच्चमा दायर गरेको रिटमा फैसला सुनाउँदै सर्वोच्चले यस्तो विवरण आम जनताले थाहा पाउने गरी सार्वजनिक गर्न भनेको हो।

सर्वोच्चले राजनीतिक दलले अपराधी घटनामा जोडिएको आरोप लागेका व्यक्तिलाई निर्वाचनमा उम्मेदवार बनाउनु परेमा त्यसको सम्पूर्ण जानकारी ७२ घन्टाअघि निर्वाचन आयोगलाई गराउनुपर्ने र उम्मेदवार छनौटभन्दा ४८ घन्टाभित्र सार्वजनिक गर्नुपर्ने भनेको छ। 

सर्वोच्चले यदि कुनै राजनीतिक दलले अपराधिक पृष्ठभूमि भएको व्यक्तिलाई निर्वाचनमा उम्मेदवार बनाउन चाहन्छ भने उसको सबै अपराधिक जानकारी अनिवार्य रुपमा आफ्नो वेबसाइट, समाजिक सञ्जाल फेसबुक र टुइटमा अनिवार्य रुपमा सार्वजनिक गर्नुपर्ने भनेको छ।

राजनीतिक दलले यो पनि खुलाउनुपर्नेछ कि उक्त व्यक्तिलाई नै किन निर्वाचनमा उम्मेदवार बनाउनुपर्‍यो? यसको जानकारी एक राष्ट्रिय पत्रिकामा र एक स्थानीय भाषाको पत्रिकामा प्रकाशन गर्नुपर्ने सर्वाेच्चको फैसलामा उल्लेख छ। 

यदि कुनै पार्टीले यो नियम पालना नगरेमा उसलाई निर्वाचन आयोगले  कारवाही गर्ने सर्वोच्चको फैसलामा उल्लेख छ।