नक्कली प्रहरी बनेर पैसा असुल गर्ने ३ पक्राउ

नेपाल लाइभ | २०७६ माघ २९ बुधबार | Wednesday, February 12, 2020 १०:५५:०० मा प्रकाशित

काठमाडाैं- नक्कली प्रहरी बनेर पैसा असुल गर्ने ३ जनालाई प्रहरीले कैलालीबाट पक्राउ गरेकाे छ। 

पक्राउपर्नेमा बझाङ्गकाे खप्तडछान्ना गाउँपालिका १ घर भइ कैलालीकाे धनगढी उपमहानगरपालिका ७ मनहेरा बस्ने वर्ष ३२ का सनम भण्डारी, धनगढी उपमहानगरपालीका ५ हसनपुर बस्ने वर्ष ३५ का गौरव हमाल र कन्चनपुरकाे पुनर्वास नगरापालिका ५ घर भइ धनगढी उपमहानगरपालिका १ बस्ने वर्ष ३३ का किशन सिजापती रहेका छन्।

गत माघ २ गते धनगढी उपमहानगरपालिका ३ का चन्द्रभान शर्माले मलनचोकमा सञ्चालन गरेकाे रिक्सा, साइकल मर्मत पसलमा उनीहरुले भारतीय नम्बर प्लेटको मोटर साइकल चोरीको हो, हामी जिल्ला प्रहरी कार्यालयबाट आएका हौ, मोटर साइकल लैजान्छौ भनी धम्काइ  ५ हजार रुपैयाँ मागेकाे र २ हजार ५ सय बुझाएपछि मोटरसाइकल छोडी गएको भन्दै परेकाे उजुरीकाे आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेकाे हाे।

माघ २६ गते पक्राउ परेका उनीहरुमाथि अनुसन्धान सुरु भएकाे प्रहरीले जनाएकाे छ।