उपसभामुखमा पनि कांग्रेसलाई छैन आशा, नेकपाले उदारता नदेखाए उम्मेदवारी नदिने 

नेपाल लाइभ | २०७६ माघ ७ मंगलबार | Tuesday, January 21, 2020 १९:४६:०० मा प्रकाशित

काठमाडौं– सभामुखमा उम्मेदवारी नदिएको नेपाली कांग्रेसले उपसभामुख पनि पाउन अपेक्षा गरेको छैन। बिहीबार हुने राष्ट्रिय सभा निर्वाचनका लागि राष्ट्रिय जनता पार्टीसँग गठबन्धन बनाएको सत्तारुढ दल नेकपाले उपसभामुख उसैलाई दिने कांग्रेसको बुझाइ छ। 

फरक दलबाट उपसभामुख बनाउनु पर्ने कानुनी व्यवस्था अनुसार नेकपाले राजपालाई उपसभामुख पद सुम्पने गरी गठबन्धन गरेको कांग्रेसको बुझाइ छ। 

कांग्रेस नेता मीन विश्वकर्मा उपसभामुखको विषय नेकपाकै स्वविवेकमा निर्भर रहने बताउँछन्। उनी भन्छन्, ‘गत निर्वाचनपछि पनि हामीले कृष्णबहादुर महरालाई सभामुख बनाउन सहयोग ग¥यौं। यसपटक सभामुखमा कांग्रेसले उम्मेदवारी नै दिएन। यसलाई नेकपाले कसरी लिन्छ।’ 

उनी नेकपाले स्वविवेक लगाएर उपसभामुखमा कांग्रेसलाई सघाउनुपर्ने बताउँछन्। राजपासँग राजनीतिक समीकरण निर्माण गरिरहेको नेकपाले प्रमुख प्रतिपक्षी दललाई उपसभामुख दिने विषयमा कांग्रेस पर्ख र हेरको अवस्थामा बसेको छ। 

नेकपाको रणनीति हेरेर अघि बढ्ने कांग्रेस नेतृत्वले जनाएको छ। नेकपाले उदारता नदेखाएमा उपसभामुखमा समेत कांग्रेसले उम्मेदवारी नदिने बुझिएको छ।