काठमाडौं– नेपाली कांग्रेसका राष्ट्रियसभा सांसद रमेशजंग रायमाझीले गोकर्ण रिसोर्टको जग्गा लिजवापत यती होल्डिङ्स प्रालिले दिएभन्दा ५० करोड बढी आफूले तिर्ने दाबी गरेका छन्।
राष्ट्रियसभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै सांसद रायमाझीले अहिले भाडामा लिएको कम्पनीले भन्दा आफूले ५० करोड रुपैयाँ बढी दिने भन्दै आफूलाई नै भाडामा दिन सरकारलाई चुनौती दिए।
उनले भने ‘सरकारका मन्त्रीज्यूहरु उपस्थित हुनुहुन्छ, सम्माननीय अध्यक्षज्यू र माननीयज्यू सबैलाई साक्षी राखेर म भन्न चाहन्छु, त्यो रिसोर्ट जति पैसामा दिएको छ त्योभन्दा ५० करोड बढी म तिर्न तयार छु। सरकार दिन तयार छ मलाई? छैन, किन दिँदैन भने त्यहाँ ५० करोडभन्दा बढीको अनियमितता भएको छ।’
उनले समय नसकिँदै नेपाल ट्रष्टको जग्गा गोकर्ण रिसोर्टलाई भाडामा दिने काममा ५० करोड बढी आर्थिक अनियमितता भएको दाबी गरे। प्रधानमन्त्री केही गिरोहको घेराभित्र मात्रै रमाउने गरेको र उनीहरुकै रिपोर्टिङका आधारमा मुलुकको विश्लेषण गर्ने गरिएको भन्दै उनले आपत्ति जनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।