सभामुखको चर्चामा जनार्दनको ‘इन्ट्री’ 

डिबी खड्का | २०७६ माघ ३ शुक्रबार | Friday, January 17, 2020 १८:१०:०० मा प्रकाशित

काठमाडौं- सभामुख पूर्व माओवादी केन्द्रलाई नै दिन सक्ने संकेत प्रधानमन्त्री केपी शर्मा ओलीले गरेपछि सम्भावित नाममा जनार्दन शर्माको इन्ट्री भएको छ। प्रधानमन्त्री ओलीले पात्र छनोटमा चासो देखाएपछि शर्माको नाममा समेत छलफल सुरु भएको हो।

सभामुखका लागि यसअघि चर्चामा रहेका नाम बाहेकको सम्भावनाका बारेमा समेत दुई अध्यक्षबीच छलफल भएको छ। त्यही क्रममा शर्माको नाममा चर्चा भएको हो। 

सरकारलाई काम गर्न सहज हुने गरी संसदमा सभामुख ल्याउने प्रधानमन्त्री ओलीको चाहना छ। सकेसम्म पूर्व एमालेबाटै सभामुख बनाउने कोशिश उनको छ। तर, पूर्व माओवादी केन्द्रका नेताहरुलाई सहमत गराउन नसकेपछि प्रधानमन्त्री ओली अनुकूल पात्र खोजिरहेका हुन्। 

पूर्वमाओवादीबाट बलियो सम्भावना अग्नि सापकोटा रहे पनि पूर्व एमालेका नेताहरुले असहमति जनाएका छन्। पूर्व माओवादी खेमाबाटै बनाउनु पर्ने अवस्थामा सापकोटाबाहेकको नाम अपेक्षा गरिएपछि यसअघिदेखि नै चर्चामा रहेका देव गुरुङ र पम्फा भूषालका साथै जनार्दन शर्माको नाममा छलफल चलेको हो।

राष्ट्रिय राजनीतिमा उठ्ने हरेक विषयमा खरो रुपमा उत्रिने शर्मा सभामुख आकांक्षी बनेसँगै मौन छन्। नेकपा नेताहरु एमसीसीका विषयमा विभक्त भइरहँदा उनी कुनै पक्षमा देखिएका छैनन्। 

राजनीतिक समीकरण हिसाबले पनि उनी सबै नेताको प्रिय बन्ने कसरतमा छन्। उनले पूर्व माओवादी केन्द्रका शीर्ष नेताका साथै पूर्व एमालेका नेताहरु प्रधानमन्त्री ओली, वरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतमसँग पनि सुमधुर सम्बन्ध बनाइरहेका छन्। 

शिवमाया तुम्बाहाम्फेलाई उपसभामुखबाट हटाएर सभामुखको जिम्मेवारी नदिँदा लाग्ने ‘महिला विरोधी’को आरोपबाट जोगिन अध्यक्षद्वयले पम्फा भूषाल अघि सार्न सक्ने सम्भावना पनि नेकपा नेताहरुले देखेका छन्। तर, शर्मा अध्यक्ष प्रचण्डका निकट नेतामध्ये अग्रपंतिमा छन्। भूषाल वैद्य समूहबाट फर्किएका कारण पनि अध्यक्ष प्रचण्डको प्राथमिकता छैनन्।

पार्टी एकीकरणका समयमा गरिएको भागबन्डालाई नमिच्ने विषयमा प्रधानमन्त्री ओली सहमत छन्। तर, संसदमा सहयोग गर्ने पात्रको खोजी उनले गरिरहेका हुन्। संसदबाट एमसीसी पास गराउनका निम्ति पनि अनुकूल पात्र सभामुखका रुपमा खोजी भइरहेको  छ।

अर्का आकांक्षी देव गुरुङले स्पष्ट रुपमा एमसीसीको विरोध गरिरहेका छन् । त्यसैले सभामुखमा प्रधानमन्त्री ओलीले उनलाई स्वीकार्ने सम्भावना कमजोर छ। यसकारण पनि शर्मा सभामुखका बलियो उम्मेदवारका रुपमा देखिएका छन्।