काठमाडौं- चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले बि एन्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गराएका छन्। 
डा गिरीले बि एन्ड सीका सञ्चालक प्रसाईँले २० करोड घुस मागेको आरोप लगाएर बेइज्जती र मानहानी गरेको भन्दै कडा कारबाहीको माग गर्दै मुद्दा दायर गरेका हुन्। 
'मेरो चरित्र हत्या गर्न प्रसाईंले हुँदै नभएको कुरालाई कपोकल्पित तरिकाले कथा बनाएर गम्भीर आरोप लगाएपछि मैले अदालत जानु परेको हो,’ डा गिरीले भने, ‘मैले हदैसम्मको कारबाही र क्षतिपूर्तिको माग राखेर मुद्दा दर्ता गरेको छु।’
डा गिरीले द्वारिका होटलमा बोलाएर २० करोड रुपैयाँ घुस मागेको आरोप प्रसाईंले लगाएका थिए। 
प्रसाईंले पनि डा गिरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी हालेका छन्।
डा गिरीको सम्पत्ति छानबिन गरी कारबाही गर्नसमेत प्रसाईंको माग छ। 
 
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।