लमजुङ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले उपसभामुख शिवमाया तुम्बाहाङफेले सभामुखमा दाबी गर्नु स्वभाविक भएको बताएका छन्। तर, सभामुख बन्नका लागि पनि उनले उपसभामुखबाट राजीनामा दिनुपर्ने बताए।
लमजुङमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले उपसभामुखले राजीनामा दिएपछि पार्टीमा छलफल गरेर सभामुखको उम्मेदवार चयन गर्ने बताए।
'हाम्रो पार्टी संसदको सबैभन्दा ठूलो पार्टी हो। हाम्रो पार्टीले रिक्त सभामुख पदमा आफ्नो दाबी गर्नु र त्यो पद हासिल गर्नु स्वभाविक ठहर्छ। तर त्यसको निम्ति संविधानको मर्म अनुसार उपसभामुख पनि रहिरहेर सम्भव छैन। उपसभामुख हाम्रो पार्टीको हुँदासम्म सभामुख हाम्रो पार्टीको उम्मेदवारले प्राप्त गर्न सक्दैन। यस कोणबाट सभामुख हाम्रो पार्टीको पक्षमा राख्नका लागि उपसभामुखलाई राजीनामा दिन अनुरोध गरेका हौं,' उनले भने।
उनले आफ्नो पार्टीका तर्फबाट प्रतिनिधिसभामा सदस्य रहेका सबैले सभामुखमा दाबी गर्न सक्ने बताए।
'उपसभामुख भइसक्नुभएका कारणले अहिलेको उपसभामुखले पनि दाबी गर्ने हक राख्नुहुन्छ। र, स्वभाविक पनि हुन्छ,' उनले भने, 'तर, उहाँले राजीनामा नदिँदासम्म त सभामुख हाम्रो पार्टी पाउने सम्भावनाकै अन्त्य हुन्छ। सभामुख उहाँ नै बन्ने हो भने पनि त्यो सभामुख हाम्रो पार्टीले पाउन सक्ने बाटो त पहिला तयार हुनुपर्यो नि। मार्ग प्रशस्त हुनुपर्यो नि। यति कुरा त सबैले बुझ्नुपर्छ।'
उनले सबैभन्दा ठूलो पार्टी आफूहरुको भएको र सोही पार्टीले सभामुख नै नपाउने स्थिति सिर्जना गर्नु कसैका लागि पनि उपयुक्त कुरा नभएको स्मरण गराए। (फाइल तस्बिर)
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।