ह्यारी र मेगनकाे घाेषणाप्रति बेलायती महारानी एलिजाबेथको समर्थन

नेपाल लाइभ | २०७६ पौष २९ मंगलबार | Tuesday, January 14, 2020 १०:३०:०० मा प्रकाशित

एजेन्सी- बेलायती महारानी एलिजाबेथले राजकुमार ह्यारीको राजपरिवारको भूमिकाबाट बहिर्गमन हुने घोषणाप्रति समर्थन रहेकाे बताएकी छन्। ह्यारी र मेगनले राजपरिवार बहिर्गमनको विषयमा धेरै महिनाअघिदेखि सल्लाह गरेर यस्तो निर्णय लिएकाे बताएका थिए।

महारानी एलिजाबेथले नयाँ भूमिकासम्बन्धी उनीहरूको चाहनाप्रति आफ्नो 'पूर्ण रूपमा' समर्थन रहेको बताइन्। बीबीसीका अनुसार उनले ड्युक र डचिस अफ ससिक्स पूर्ण रूपमा शाही भूमिकामा रहून् भन्ने चाहे पनि उनीहरूको निर्णयमा समर्थन रहेको बताएकी हुन्।

यद्यपि उनले भनेकी छन्, 'म चाहन्थेँ राजपरिवारको सदस्यको पूर्णकालीन भूमिकामा भए राम्रो हुन्थ्यो।'

एउटा वक्तक्यमार्फत्‌ महारानीले जनाए अनुसार प्रिन्स अफ वेल्स र ड्यूक अफ क्रेम्ब्रिज समेत सहभागी वार्ता 'निकै रचनात्मक' रह्यो। उनले भनेकी छन्, 'मेरो परिवार र म कान्छो परिवारका रूपमा एउटा नयाँ जीवन सुरूवात गर्ने ह्यारी र मेगनको चाहनालाई पूर्ण समर्थन गर्छौँ।' महारानीले जटिल विषयहरूलाई आफ्नो परिवारले सल्टाउनुपर्ने र अझै केही काम गर्न बाँकी रहेको भन्दै केही दिनभित्रै अन्तिम निर्णय लिने बताएकी छन्।