आगलागीमा चार घर जले

नेपाल लाइभ | २०७६ मङ्सिर १९ बिहीबार | Thursday, December 05, 2019 १९:१७:०० मा प्रकाशित

सप्तरी- सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा बिहीबार आगलागी हुँदा चार घर पूर्णरूपमा जलेर नष्ट भएको छ।

कङ्कालिनी-३ पोर्ताहा बस्ने शिवनारायण भिन्दवारको घरमा विद्युत् चुहावट भई आगलागी हुँदा भिन्दवारसहित मनोज पघैया, बिनोद पघैया र श्याम शर्माको घर जलेर नष्ट भएको सप्तरी प्रहरीले जनाएको छ।

घर र घरभित्र रहेको लत्ताकपडा, अन्नपातसमेत जलेर नष्ट हुँदा रु १० लाख २३ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए। नगरपालिकाको वारुणयन्त्रको सहयोगमा इलाका प्रहरी कार्यालय भारदह, सशस्त्र प्रहरी बल भारदह र स्थानीयबासीले आगो नियन्त्रणमा लिएका छन्।