काठमाडौं- उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको अस्पतालले बताएको छ।
गत मंसिर १० गते मनोमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका ओलीको 'एपेन्डिसाइटिस' का साथै 'पेरिटोनाइटिस' समेत देखिएपछि 'ल्यापरोटोपी' र 'एपेन्डेक्टोमी' गरिएको थियो। त्यसयता उनी सोही अस्पतालमा उपचाररत छन्।
'सम्माननीयको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको र हाल उहाँलाई चिकित्सकीय अवलोकनमा राखिएको व्यवहोरा जानकारी गराइन्छ', बुधबार बिहान १० बजे अस्पताद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
केही दिनअघि प्रधानमन्त्री ओलीले अस्पतालको शय्याबाटै भिडियो सन्देश जारी गरेका थिए। 'तर, मेरो स्वास्थ्य राम्ररी सुधार भइराखेको छ। एउटा मेजर अपरेशनपछि पनि म उठेर बोल्न सक्ने, साथीहरुसँग कुरा गर्न सक्ने अवस्थामा छु र समाचारहरु हेर्न सक्ने अवस्थामा छु', उनले भनेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।