राम मन्दिर-बाबरी मस्जिद विवाद : मुस्लिम पक्षले अस्वीकार गर्‍यो फैसला, पुनरावेदन गर्ने तयारी

नेपाल लाइभ | २०७६ मङ्सिर १ आइतबार | Sunday, November 17, 2019 १७:५८:०० मा प्रकाशित

काठमाडौं– राम मन्दिर-बाबरी मस्जिद विवादमा भारतीय सर्वोच्च अदालतले गरेको फैसला भारतीय मुस्लिम समुदायको संगठन अल इन्डिया मुस्लिम पर्सनल ल बोर्डले अस्वीकार गरेको छ। सर्वोच्चको फैसलामाथि पुनरावेदन माग गर्दै नयाँ पुर्नविचार याचिका दायर गर्ने निर्णय आइतबार सो बोर्डले गरेको हो। 

यसअघि भारतीय सर्वोच्च अदालतले उक्त क्षेत्र हिन्दुहरुको हुने र मुस्लिम पक्षलाई मस्जिद बनाउन नयाँ स्थानमा जमिनको व्यवस्था गर्न सरकारका नाममा आदेश जारी गरेको थियो। 

बोर्डले एक प्रेस विज्ञप्ति जारी गर्दै कार्यकारिणी बैठकले सर्वोच्च अदालतले ९ नोभेम्बरमा गरेको फैसलामाथि पुनर्विचार याचिका दायर गर्ने निर्णय गरेको हो।

बैठकपछि सचिव जफरयाब जिलानीले पत्रकारसँग कुराकानी गर्दै राममन्दिरको नाममा सम्पूर्ण जग्गा हुने भनी सर्वोच्च अदालतले दिएको फैसलाई चुनौती दिने निर्णय गरेको बताए। सर्वोच्च अदालतको यो फैसला विरोधाभास र गलत लागेको जफरयाबले बताए। 

जिलानीले यो पनि प्रष्ट पारेकी बाबरी मस्जिदको बदलामा मुसलमानहरुलाई दिइने भनिएको पाँच एकड जमिन पनि अस्वीकार गर्ने निर्णय बोर्डले गरेको बताए। 

उनले मुस्लिमहरु न्याय माग्न सर्वोच्च अदालत गएको तर  जमिन माग्न नगएको टिप्पणी गरे।