बाग्लुङ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले मध्यपहाडी लोकमार्गअन्तर्गत बाग्लुङदेखि घोडाबाँधे क्षेत्रको सडक अलपत्र पार्ने ठेकेदारलाई सरकारले कारबाही गर्ने चेतावनी दिएका छन्।
वाम गठबन्धनले बडिगाड गाउँपालिका-२ दनियामा शनिबार आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै विकास आयोजनाको काम ढिलाइ हुनुमा सरकार मात्रै दोषी नहुने भन्दै सङ्घीय सांसद तथा नेकपा स्कुल विभागका उपप्रमुखसमेत रहेका पौडेलले काम नगर्ने ठेकेदारलाई कानूनी कठघरामा उभ्याउन सरकार पछि नहट्ने बताए।
अछेते-घोडाबाँधे सडकको ठेक्का पाएको सूर्य कन्ट्रक्सन टाट पल्टिएपछि लोकमार्गको १२ किलोमिटर सडक अलपत्र परेको छ।
'देशको सार्वभौमिकता र सीमाका सन्दर्भमा विगतका आफ्ना नेताका भूमिकालाई हेर्न काङ्ग्रेस कार्यकर्तालाई आग्रह गर्दै नेकपाप्रति भ्रम नफैलाउन आह्वान गर्दछु,' नेता पौडेलले चेतावनी दिए।
उनले सरकारले कूटनीतिक माध्यमबाट सबै समस्या समाधान गर्ने उनको भनाइ थियो। वर्तमान सरकारले लोडसेडिङ अन्त्य गरेको, झण्डै ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेको, सुरुङमार्ग सुरु गरेको भन्दै उनले दर्जन बढी कामको फेहरिस्त सुनाएका थिए।
कार्यक्रममा स्थानीय निकायको निर्वाचन विसं २०४९ र २०५४ मा कम्युनिस्ट पार्टीबाट वडामा निर्वाचित वडाध्यक्ष तथा सदस्यलाई सम्मान गरिएको थियो।
प्रमुख अतिथि रहेका पौडेलले दोसल्ला ओढाएर सबैलाई सम्मान गरेका थिए।-रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।