फर्चुनरदेखि क्रेटासम्म चोरीका ४ गाडी प्रहरी नियन्त्रणमा, २ जना पक्राउ

नेपाल लाइभ | २०७६ कार्तिक २९ शुक्रबार | Friday, November 15, 2019 १२:३४:०० मा प्रकाशित

काठमाडौं– चोरी चार वटा गाडीसहित महानगरीय प्रहरी वृत्त कालिमाटीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गोरखा सुलिकोट गाउँपालिका–७ घर भई सोह्रखुट्टे नयाँबजारस्थित आदित्य ट्रान्सपोर्टका सञ्चालन गर्दै आएका ३४ वर्षीय मुकुन्दप्रसाद पुडासैनी र  सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ घर भई काठमाडौं काभ्रेस्थली बस्ने ३९ वर्षीय दीपेन्द्र भन्ने दीपकबहादुर बुढा छन्। 

उनीहरुलाई चोरीका ४ वटा गाडीसहित बिहीबार राति पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त कालिमाटीका डिएसपी रुगम कुवँरले जानकारी दिए। 

चोरीको बा२१च ८७१४ र बा१८च ३१३८ नम्बरको स्कार्पियो तथा बा११च ९७९४ नम्बरको प्राइभेट फर्चुनर कार र डिएल २ सिएजेट ७७९९ नम्बरको क्रेटा कार प्रहरीले नियन्त्रणमा लिएको छ। 

उक्त ट्रान्सपोर्टले चोरीका गाडीहरु प्रयोग गर्ने गरेको भन्ने सूचनाको आधारमा कालिमाटी प्रहरीले कलंकीबाट नियन्त्रणमा लिएको हो। उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।