काठमाडौं– समाजवादी पार्टीको संघीय परिषद्को बैठक बिहीबार बस्दैछ। बैठक दिउँसो १२ बजेदेखि सुरु हुनेछ।
बैठकले मुख्य गरी दुई विषयमा पार्टीको धारणा स्पष्ट पार्ने नेताहरुले बताएका छन्। पहिलो, सरकारमा रहिरहने वा बाहिरिने। दोस्रो, राष्ट्रिय जनता पार्टीसँगको एकता।
गत बैशाखमा तत्कालीन नयाँ शक्ति र संघीय समाजवादी पार्टीबीच एकता भइ गठन भएको समाजवादी पार्टीमा सरकारमा रहिरहने वा बाहिरिने विषयमा दुई थरि धारणा छन्। एकताका बेला दुई पार्टीबीच सरकारलाई संविधान संशोधनको अल्टिमेटन दिने र सरकारबार बाहिरिने भद्र सहमति भएको थियो। सोही अनुसार, पूर्व नयाँ शक्तिका नेताहरुले सरकारबाट बाहिरिनुपर्ने धारणा राख्दै आएका छन्।
पूर्व फोरमका नेताहरुले भने प्रधानमन्त्रीले संविधान संशोधन हुँदैन नभनेका सरकारबाट तत्काल बाहिरिनु नहुने बताउँदै आएका छन्।
त्यस्तै, राजपासँगको एकताका बारेमा पनि बैठकले स्पष्ट धारणा बाहिर ल्याउने बताइएको छ। राजपासँग एकताका लागि अनौपचारिक छलफल भइरहे पनि त्यसले निष्कर्प पाउन सकेको छैन। राजपाले एकताका लागि समाजवादीले सरकार छाड्नुपर्ने बताउँदै आएको छ।
दुई पार्टीबीच पार्टीको नेतृत्व र केही सैद्धान्तिक विषयमा पनि फरक मत छन्।
बैठकमा पार्टीका संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले राजनीतिक प्रतिवेदन पेश गर्नेछन्।
बैठकमा सहभागिताका लागि पार्टीका मुलुकभरका करिब एक हजार प्रतिनिधि काठमाडौं आइपुगेका छन्।
गत बैशाख २३ गते समाजवादी पार्टी गठन गर्दा सार्वजनिक भएको ९ बुँदे अवधारणा अनुसारलाई मुर्त रुप दिन पार्टीले कुनै ठोस कार्यक्रमहरु अघि सार्न सकेको छैन। त्यसैले पार्टीले भावी कार्ययोजना पनि तय गर्ने नेताहरु बताउँछन्।
संघीय परिषद् बैठकपछि शुक्रबार र शनिबार पार्टीको केन्द्रीय केन्द्रीय समितिको बैठक बस्दैछ। सो बैठकले संघीय परिषद बैठकको निर्णयलाई अनुमोदन गर्नेछ ।
(फाइल फोटो)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।