बंगलादेशका राष्ट्रपति मंगलबार नेपाल आउँदै, पोखरा पनि जाने कार्यक्रम

नेपाल लाइभ | २०७६ कार्तिक २३ शनिबार | Saturday, November 09, 2019 १६:१३:०० मा प्रकाशित

काठमाडौं- बंगलादेशका राष्ट्रपति अब्दुल हमिद ४ दिने नेपाल आउने भएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा हमिद मंगलबार नेपाल आउने भएका हुन् ।

परराष्ट्र मन्त्रालयले  शनिबार जारी गरेको विज्ञप्तिमा उनको भ्रमणलाई ‘सद्भावना भ्रमण’ भनिएको छ।

मन्त्रालयका अनुसार राष्ट्रपति हमिदको स्वागतमा त्रिभुवन विमानस्थलमा स्वागत समारोह आयोजना गरिने ।  

राष्ट्रपति हमिदसँग राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सेना, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली लगायतले भेटवार्ता गर्ने छन् । 

त्यस्तै उनले राजनीतिक दलका नेताहरुलाई पनि भेट्ने छन् ।

समकक्षी हमिदको सम्मानमा राष्ट्रपति भण्डारीले भोजको आयोजना गर्ने छिन् । 

४ दिने नेपाल बसाइका क्रममा राष्ट्रपति हमिद पोखरा जाने छन् । त्यस्तै काठमाडौंका सांस्कृतिक सम्पादाहरुको अवलोकण समेत गर्ने छन् । 

पिटिए र मोटर भेइकलमा सम्झौताको तयारी
परराष्ट्र मन्त्रालयले यसबारेमा औपचारिक रुपमा अहिलेसम्म केही नबताए पनि बंगलादेशी राष्ट्रपतिको भ्रमणका क्रममा दुई देशबीच ‘मोटर भेइकल’ र ऊर्जा व्यापार सम्झौता (पिटिए) हुनेछ । 

बाकुमा सम्पन्न असंलग्न अभियानको १८औं शिखर सम्मेलनको साइडलाइनमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको भेटवार्तामा बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले राष्ट्रपतिको भ्रमणका क्रममा पिटिए सम्झौता टुंग्याउन आग्रह गरेकी थिइन्।

हमिदको नेपाल भ्रमणका क्रममा दुई पक्षबीच बिबपआइएन (बंगलादेश, भुटान, भारत र नेपाल) बीच हुने भनिएको मोटर भेइकल सम्झौता र ऊर्जा व्यापार सम्झौता (पिटिए) हुने सम्भावना छ।

नेपाल-भारत-भुटान-बंगलादेशबीच सीधा बस सेवा सञ्चालन गर्ने भनिए पनि भुटानले नमानेकाले हालसम्म उक्त काम अघि बढ्न सकेको छैन। अहिले नेपाल र भारतबीच मात्र सिधा बस सेवा सञ्चालनमा छ।

भेटका क्रममा दुवै प्रधानमन्त्रीबीच बिबिआइएनअन्तर्गत हुने भनिएको मोटर भेइकल सम्झौतालाई पनि अघि बढाउने सहमति भएको थियो।

भुटान सहमत नभए पनि अब बंगलादेश, भारत र नेपाल मोटर भेइकल सम्झौता गरेर अघि बढ्ने तयारीमा छन्। यसलाई बंलादेशले जोड दिँदै आएको छ।

केही समयअघि भारत भ्रमणका क्रममा पनि बंगलादेशी प्रधानमन्त्रीले यसबारे समकक्षी नरेन्द्र मोदीसँग पनि छलफल गरेकी थिइन्। हसिना र मोदी पनि त्यसमा सम्झौता गरेर कार्यन्वयनमा जान सहमत भएका थिए।