माइतीघरमा नारा- अर्ब ठग्ने अन्सारी, संरक्षण सरकारी

नेपाल लाइभ | २०७६ कार्तिक २३ शनिबार | Saturday, November 09, 2019 १३:०५:०० मा प्रकाशित

काठमाडौं– डाक्टर गोविन्द केसीको पक्षमा माइतीघरमा प्रदर्शन गरिएको छ।

प्रदर्शनकारीले डाक्टर केसीको अनसन सत्रौं चरणसम्म आइपुग्दा विभिन्न पात्र र प्रवृत्तिहरु देखिएको बताएका छन्। पछिल्लो समय चर्चामा आएका बसरुद्दिन अन्सारीलाई सरकारले नै संरक्षण र पुरस्कृत गरेको भन्दै विरोध गरिएको छ।

'अर्ब ठग्ने अन्सारी, संरक्षण सरकारी', प्रदर्शनकारीले नारा गराए।

अन्सारी बिरगंजस्थित नेसनल मेडिलक कलेजका सञ्चालक हुन्। 'मेडिकल क्षेत्रमा माफियातन्त्रको नेतृत्व गर्ने व्यक्तिको नाम वसरुद्दिन अन्सारी हो', प्रदर्शनकारीले भने, 'उहाँलाई सघाउने दुई जना व्यक्तिहरु पुष्पकमल दहाल प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओली नै हुन्। यो भन्न हामीलाई अलिकति पनि हिचकिचाहट छैन। यो प्रष्ट भइसकेको छ।'

प्रधानमन्त्री केपी शर्मा ओली उपचारको लागि सिंगापुर गएका बेला अन्सारी पनि सँगै गएका थिए। उनैले प्रधानमन्त्रीको उपचार खर्च तिरिदिएको आशंका गरिन्छ।

बढी शुल्क लिएको भन्दै विद्यार्थी गरेको प्रदर्शनमा उनले हस्तक्षप गरेको र विद्यार्थीलाई बन्दक बनाएको भन्दै केही समयअघि समाचार सार्वजनिक भएका थिए।

डा केसीले सत्रौं अनसन डडेल्धुराबाट सुरु गरेका छन्।