शरिफमाथि विदेश भ्रमणमा लगाइएको रोक खुला गरिदिन परिवारकाे अनुराेध

नेपाल लाइभ | २०७६ कार्तिक २३ शनिबार | Saturday, November 09, 2019 ०६:५१:०० मा प्रकाशित

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफको परिवारले उनलाई विदेश भ्रमणमा लगाइएको रोक उपचारका लागि खुला गरिदिन आग्रह गरेकाे छ। भ्रष्टाचार आरोपमा जेल जीवन विताइरहेका शरिफलाई गत महिना हृदयघात भएपछि पाकिस्तानमा उपचाररत छन्। 

तीन पटक पाकिस्तानकाे प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका शरिफ ‘अटोइम्युन ब्लड डिसअर्डर’का कारण विरामी छन्। शरिफका परिवारले बिहीबार पाकिस्तानी गृहमन्त्रीलाई भेट गरी उपचारका लागि पूर्वप्रधानमन्त्रीलाई विदेश लानु परेको भन्दै उनीमाथि विदेश भ्रमणमा लगाइएको रोक फुकुवा गर्न अनुरोध गरेकाे नाम उल्लेख नगर्ने सर्तमा शरिफका एक सहयोगीले बताए।

उनका एक चिकित्सकले भने, 'पूर्वप्रधानमन्त्री शरिफलाई उच्च रक्तचाप रहेको, मृगौलामा खराबी देखिएको र ‘अटोइम्युन ब्लड डिसअर्डर’को समस्या भएकोले उनी जीवनमरणका लागि संघर्षरत छन्। उनी हाल पाकिस्तानको पूर्वी सहर लाहोरस्थिति एक अस्पतालमा उपचार गराइरहेका छन्। यद्यपी अधिकारीहरूले यस सम्बन्धमा सोधिएको प्रश्नको जवाफ दिन तयार भएनन्। तर एक अधिकारीले पूर्वप्रधानमन्त्रीको अनुरोधलाई मन्त्रिपरिषद्‌मा पठाइएको बताए।

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार शरिफको अनुरोधलाई सरकारले स्वीकार्ने सम्भावना रहेको छ। पाकिस्तानी मुस्लिम लिग–नवाज (पिएमएल–एन) को एक स्रोतले भन्यो, सरकारबाट अनुमति आएमा शरिफलाई आगामी हप्ता लण्डन लैजाने तयारी रहेको छ।