काठमाडौं– हाउजिङ व्यवसायमार्फत ठगी गरेको आरोपमा पक्राउ परेका पूर्वअर्थ राज्यमन्त्री तथा व्यापारी रुप ज्योति र उनकी छोरी सुरुचीलाई ३ दिन थुनमा राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको छ।
थुनामा राखेर अनुसन्धान गर्न माग गर्दै महानगरीय प्रहरी परिसर काठमाडौंले उनीहरु दुबैलाई जिल्ला अदालत काठमाडौं लगेको थियो।
अदालतले ३ दिनको म्याद दिएको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी परिसरको टोलीले ज्योति बाबुछोरीलाई बिहीबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो।
हाउजिङका नाममा विभिन्न व्यक्तिलाई ठगी गरेको मुद्दामा काठमाठौं जिल्ला अदालतले २०७५ मंसिर २० मा पक्राउ गर्न अनुमति दिएको थियो। तर त्यसविरुद्ध ज्योति सर्वोच्च पुगेका थिए। त्यसको करिब १ वर्षपछि सर्वोच्चले ज्योतिको विपक्षमा फैसला सुनाएपछि उनी पक्राउ परेका हुन्।
ज्योतिले व्यक्तिका नाममा दिनुपर्ने जग्गा अर्कै कम्पनी खडा गरी कम्पनीकै नाममा गराएका थिए। उक्त कम्पनी रुप ज्योतिको श्रीमती र छोरीको नाममा थियो। त्यसैका आधारमा छोरीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।