सत्तारुढ दल निकट विद्यार्थी संगठनद्धारा भारतीय दूतावास घेराउ

नेपाल लाइभ | २०७६ कार्तिक २२ शुक्रबार | Friday, November 08, 2019 १३:४७:०० मा प्रकाशित

काठमाडौं- भारतले हालै सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपाली भूमि कालापानी र लिपुलेक क्षेत्र एकलौटी ढंगले समेटेको विरोधमा विद्यार्थीहरुले भारतीय दूतावास अगाडि प्रदर्शन गरेका छन्। लैनचौर पुगेर सत्तारुढ नेकपा निकट विद्यार्थी संगठन अनेरास्वियूका युवा विद्यार्थीले प्रदर्शन गरेका हुन्।

केही दिनअघि मात्र भारतले कालापानी लगायतका नेपाली भू-भाग आफ्नो क्षेत्रमा समेटेर नक्सा सार्वजनिक गरेको थियो।

अनेरास्ववियूका विद्यार्थीहरुले कालापानी, लिपुलेक र लिम्पियाधुरामा भएको नेपाली भूमि तत्काल फिर्ता नलिए भारतविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिए।

अनेरास्ववियूले भारतको हेपाहा प्रवृत्तिको डटेर मुकाविला गर्ने चेतावनी पनि दिएको छ। विरोध प्रदर्शनपछि आयोजित कोण सभामा बोल्दै अनेरास्ववियूका संयोजक ऐन महरले भारतीय थिचोमिचोको विरोधमा कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए।

इतिहासमा कहिल्यै कसैको अतिक्रमण नसहेको नेपाल राष्ट्र, नेपाली जनता र युवा विद्यार्थीहरुले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने पनि संयोजक महरको भनाइ छ।

भारतीय नक्सामा नेपाली भूमि समावेश गरिएको नक्सा सार्वजनिक भएपछि नेपालमा त्यसको विरोध हुँदै आएको छ।

यसैबीच, नेपालको सीमा रक्षाको वकालत गर्दै आएको ग्रेटर नेपालले पनि भारतीय नक्सामा समावेश गरिएको नेपाली भूमि तत्काल हटाउन भारतसँग माग गर्दै लैनचौरस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेको छ।

सन् १९६२ देखि नै उक्त क्षेत्रमा भारतीय सेनाको उपस्थिति रहँदै आएको छ। सुगौली सन्धिअनुसार नेपाल र भारतको सीमा काली नदी हो। भारतले ३० किलोमिटरपूर्व कृत्रिम नदी बनाई त्यसलाई ‘काली’ भन्न थाल्यो र त्यसदेखि पश्चिमको भू-भाग अतिक्रमण गर्न सुरु गरेको बताइन्छ।

वास्तविक काली नदीलाई भारतले 'कुटियन्ती' भन्ने गरेको छ। भारतले कुटियन्ती भन्दै आएको नदीलाई नयाँ नक्सामा काली लेखिएको छ।

कालापानी-लिपुलेकको क्षेत्रफल ६२ वर्गकिलोमिटर छ। लिम्पियाधुराको ३ सय १० वर्गकिलोमिटर क्षेत्र भारतले यसअघि नै कब्जा गरिसकेको छ।