लरीमा भेटिएका सबै ३९ भियतनामीहरुको शव सनाखत, डब्लिनमा एक संदिग्ध पक्राउ

नेपाल लाइभ | २०७६ कार्तिक २२ शुक्रबार | Friday, November 08, 2019 ०८:३९:०० मा प्रकाशित

एसेक्स- गत अक्टोबर १३ मा बेलायतको एसेक्सस्थित ग्रेसमा लरीभित्र भेटिएका सबै ३९ भियतनामीहरुको शव सनाखत भएको छ।

एसेक्स प्रहरीका अनुसार पहिले चिनियाँ नागरिक रहेको बताइए पनि अनुसन्धानबाट सबै शव भियतनामका नागरिकको रहेको र उनीहरुको परिचय पनि खुलेको हो।

लरीमा ३१ पुरुष र ८ महिलाको शव भेटिएको थियो। घटनाका प्रमुख अनुसन्धान अधिकृत एसेक्सका सिनियर कर्नेल कारोलिन बेस्ली-मुर्रेका अनुसार उनीहरु भियतनामको हाइफोङ, हाई डोङ, घी आन, हा तिन्ह, क्वाङ बिन्ह र ह्यु राज्यका रहेको खुलेको छ।

बेल्जियमको जिबर्गबाट आएको उक्त लरीलाई एसेक्सस्थित वाटरग्ल्याड औद्योगिक क्षेत्रमा प्रवेश गर्ने क्रममा जाँच गर्दा ती शव भेटिएको थियो। लरी एसेक्स नजिकैको सहर पुरफ्लिट जाँदै थियो।

एसेक्सका एसिस्टेन्ट चिफ कन्स्टेबल टिम स्मिथले कुनै पनि घटनाको अनुसन्धानमा पीडितको परिचय खुल्नुलाई महत्वपूर्ण मानिने बताउँदै अब प्रहरीलाई अनुसन्धानमा थप सघाउ पुग्ने दावी गरे।

उक्त लरीका चालक उत्तरी आयरल्यान्डका नागरिक मौरिस रोविन्सन रहेको र उनलाई गत साता नै अदालत उपस्थित गराई मुद्दा दायर गरिएको उनले जानकारी दिए।

युरोपेली पक्राउ पुर्जी जारी गरेपछि अर्का एक संदिग्धलाई समेत डब्लिनबाट नियन्त्रणमा लिइएको छ। २२ इमोन्न ह्यारिसनलाई डब्लिनबाट बेलायत सुपुर्दगी गर्ने तयारी भइरहेको पनि एसेक्स प्रहरीले जनाएको छ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले उत्तरी आयरल्यान्डका रोनन र क्रिस्टोफर ह्युजलाई समेत प्रहरीले खोजिरहेको बताइएको छ। उनी दुवैजना दाजुभाइ हुन्। उनीहरु हत्या र मानव तस्करीमा संलग्न रहेको आशंका गरिएको छ।

यसअघि भियतनाममा ११ जनालाई पक्राउ गरिसकिएको छ। सबै ३९ जनालाई अवैधरुपमा बेलायत पठाउने कार्यमा संलग्न रहेको भन्दै उनीहरुलाई नियन्त्रणमा लिएको भियतनामी प्रहरीले जनाएको छ।