कोलम्बो- श्रीलंकाको राज्य सञ्चालित केन्द्रीय वातावरण प्राधिकरणले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई राजधानी कोलम्बोलगायतका भागहरूमा अनपेक्षित प्रदुषण बढ्नुको कारण पत्ता लगाउन अनुरोध गरेको छ।
मंगलबारदेखि श्रीलंकाको वातावरणमा एक्कासी अत्यधिक धुलोका कण (वायु प्रदुषण) वृद्धि भएको भन्दै बिहीबार आफूहरूले श्रीलंकाको मौसम विज्ञान विभाग तथा डब्लुएचओलाई पत्राचार गरिएको प्राधिकरणका उप-महानिर्देशक केएचएम आराच्चीले जानकारी गराए।
बुधबार मध्यान्न श्रीलंकाको वायुको गुणात्मक अवस्था (एक्यूआई) प्रदुषणको घेराभन्दा माथि अर्थात् १ सय १२ अंकमा पुगेको राष्ट्रिय भवन तथा अनुसन्धान संगठन (एनबिआरओ)ले देखाएपछि स्थानीय पत्रपत्रिका तथा सामाजिक सञ्जालमा यसको चर्चा चुलिएको थियो।
एनबिआरओका वातावरण अध्ययन एकाईका वरिष्ठ वैज्ञानिक सारथ प्रेमसिरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले मुलुकका कैंयौँ भागमा एक्युआईको तह १ सय ७३ अंकभन्दा माथि पुगेको र मध्यान्नमा १ सय ६५ मा झरेको उल्लेख गरी समाचार सम्प्रेषण गरेका थिए।
एक्युआई सामान्य रहँदा उक्त घेरा ५० अंकभन्दा तल रहने गर्छ।
नयाँ दिल्लीमा बढेको वायु प्रदुषणको प्रभाव श्रीलंकामा परेको हुनसक्ने भए पनि एक्कासी देखिएको प्रदुषण अनुसन्धानको विषय हुनुपर्ने र कारणहरू खोजी भइरहेको प्रेमसिरीले बताए। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।