कारागारभित्र निरङ्कुशतन्त्र जस्तै अर्को सत्ता: गृहमन्त्री थापा

नेपाल लाइभ | २०७६ कार्तिक २१ बिहीबार | Thursday, November 07, 2019 ०७:२२:०० मा प्रकाशित

काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले कारागारभित्र छुट्टै सत्ता रहेको बताएका छन्। राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री थापाले कारागारभित्रको आन्तरिक प्रसाशनलाई लोकतान्त्रिक बनाउन सरकारले प्रयास थालेको जानकारी गराए।

समितिले केहि समयअघि नेपालका कारागार र हिरासत कक्षको स्थलगत अनुगमन गरेपछि गृहमन्त्री, गृहसचिव, महान्यायधिवक्तालगायतलाई बुधबार छलफलको लागि बोलाएको थियो। समितिमा सांसद पम्फा भुसाल र डिला संग्रौलाले कारागारको सुरक्षाको घेराभित्र पनि अर्को सत्ता रहेको भन्दै मन्त्रीसँग वास्तविकता केहो भनेर जवाफ मागेपछि गृहमन्त्री थापाले नेपालका कारागारभित्र निरङ्कुश सत्ता रहेको स्वीकारेका हुन्।

बैठकमा सांसदहरूले कारागार भित्रका नाइके, भाइ नाइकेजस्ता कैदीले अलग्गै सत्ता चलाएको र कारागार सुरक्षामा खटिने प्रहरीसमेत निरिह बनेको आराेप लगाए। राज्यव्यवस्था तथा सुशासन समितिले कारागार, बन्दीगृह र हिरासत कक्षको स्थलगत अनुगमन गरेको थियो। समितिले अनुगमनपछि नेपाल सरकारलाई कारागार, बन्दीगृह र हिरासत कक्षको सुधारका लागि २८ बुँदे निर्देशन दिने तयारी गरेको छ।